पत्रकार हमाललाई उपस्थित गराउन सर्वोच्चले दियो आदेश

भदौं २१, काठमाडौं —पत्रकार ओम हमाललाई आउँदो सोमबार अदालतमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

हमालकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले पत्रकार हमाललाई पक्राउको कारण र बन्दीसहित अदालत पेश गर्न शुक्रवार आदेश दिएको हो ।

हमालको गिरफ्तारी गैरकानूनी भएको भन्दै गत भदौ ८ गते नेपाल पत्रकार महासंघको तर्फबाट केन्द्रीय सदस्य जन्मदेव जैसीले दायर गरेको बन्दी प्रत्येक्षीकरण रिटमा सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । तर, प्रहरीले सर्वोच्च अदालतको गेटबाटै उनलाई पुनः पक्राउ गरेको थियो ।

दोस्रोपटक गिरफ्तार गरेपछि जनपत्रकार संगठनकी सदस्य रहेकी हमालकी श्रीमती मोनिका गुरूङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् । हमाललाइ प्रतिबन्धित विप्लव नेतृत्वको नेकपासँग नजिक भएकोभन्दै भदौ ६ गते पोखराको सिसुवाबाट प्रहरीले पक्राउ गरेको थियो ।

पुनः पक्राउ गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौले पत्रकार हमाललाई बुधबार अभद्र व्यवहारको मुद्धा लगाएको छ । हमाललाई पुन पक्राउ गरी बुधबार नै काठमाडौ जिल्ला प्रशासन कार्यालबाट ७ दिनको म्याद थपिएको छ ।