भदौ २१,काठमाडौं — प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली सिंगापुरमा १५ दिनको उपचारपछि शुक्रबार स्वदेश फर्कनेबित्तिकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उनलाई भेट्न बालुवाटार पुगे । प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न पुगेका अध्यक्ष दाहालले यसबीचमा भएको पार्टी कामको औपचारिक जानकारी पनि अर्का अध्यक्ष ओलीलाई दिए ।
विदेश जानुअघि ओलीले पार्टी अध्यक्षका हैसियतले संयुक्त रूपमा गर्दै आएको पार्टी कामको जिम्मेवारी दाहाललाई सुम्पेका थिए । त्यही जिम्मेवारीअनुसार आफूले गरेका कामबारे उनले ओलीलाई सूचित गरे ।
अब पार्टी कामको एकल जिम्मेवारी दाहालले नै पाइरहन्छन् कि त्यसमा ओलीको पनि पूर्ववत् साझेदारी रहन्छ रु नेकपाका धेरै नेताहरू प्रधानमन्त्री ओलीले आगामी दिनमा चाल्ने कदमलाई चासोपूर्वक नियालिरहेका छन् । उपचारका लागि सिंगापुर जानुअघि ओलीले सरकारतर्फ आफूले बढी ध्यान दिने र पार्टी काममा दाहालको भूमिका मुख्य हुने धारणा पार्टी सचिवालय बैठकमा राखेका थिए । अब यसको व्यावहारिक कार्यान्वयन हुन्छ कि हुँदैन भन्ने चासो सत्तारूढ वृत्तमा छ ।
‘पार्टीलाई समझदारीअनुसार सहज ढंगले अघि बढाउन आपसी आशंकाहरूलाई विश्वासमा बदल्नुपर्छ,’ नेकपा स्थायी समिति सदस्य हरिबोल गजुरेलले भने, ‘अध्यक्षहरूले आ–आफ्ना भूमिकालाई कार्य विभाजन गरेर अघि बढ्दा पार्टी र सरकारले गति लिने अवस्था हुन्छ ।’ गजुरेल र उनीजस्ता पूर्वमाओवादी नेताहरू ओलीले सरकारको नेतृत्व गर्दा पार्टीको कमान्ड दाहालले सम्हाल्न पाउनुपर्ने धारणा राख्छन् ।
कान्तिपुर दैनिक लेख्छ–वामदेव गौतम र विष्णु पौडेलले प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्न मात्र सिंगापुर गएको बताए पनि त्यहाँ राजनीतिक स्वास्थ्यको हिसाबकिताबसमेत भएको आशंका गरिन्छ ।
अध्यक्ष दाहाललाई पार्टी सञ्चालनको पूर्ण अधिकार दिने विषयमा तत्कालीन एमालेको ओली पक्ष उदार छैन । एकता हुँदा संयुक्त अध्यक्ष रहने भन्ने सहमति भएकाले बीचैमा एकजना अध्यक्षलाई मात्र अधिकार हस्तान्तरण गर्नु जायज नहुने ओली पक्षको भनाइ छ ।