भदौं २०,काठमाडौं — झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालय शुक्रबार दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म भद्रपुर विमानस्थल बन्द हुने भएको छ ।
विमानस्थलको धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिको कार्य गर्न शुरु गरेकाले आजदेखि असोज ४ गतेसम्म (१५ दिन) का लागि दिउँसो २ बजेदेखि बिहान ७ बजेसम्म विमानस्थल बन्द हुने जानकारी गराएको छ ।
एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले मर्मतसम्भार शुरु गरेकोे चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिए । जीर्ण बनेको धावनमार्गको १२ वर्षपछि मर्मतसम्भार गर्न लागिएको हो ।
प्रमुख चुँडालका अनुसार गौरी–पार्वती–देव एन्ड सायर जेभी काठमाडौँले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि रु १० करोड २३ लाखमा ठेक्कामा लिएको छ । आगामी १५ दिनसम्म तोकिएको समयमा विमानस्थल बन्द हुनेछ ।