‘फिफ् प्रो’ सूचीमा ५५ खेलाडी

भदौं २०—विश्व फुटबल महासंघ (फिफा)ले उत्कृष्ट ११ खेलाडी छनोट गर्न ५५ खेलाडीको सूची सार्वजनिक गरेको छ ।फिफ्-प्रो ११ का लागि पहिलो चरणमा ५५ खेलाडीको नाम सार्वजनिक गरेको हो ।

५५ जना मध्येबाट फिफाले ११ जनाको टिम छनोट गर्नेछ । छनोटमा परेका खेलाडीलाई समेटेर ‘टिम अफ द इयर घोषणा’ गर्नेछ । सार्वजनिक सूचीमा गोल रक्षकका लागि पाँचजनाको नाम परेको छ । डिफेन्डरमा २० जना, मिडफिल्डरमा १५ जना र फरवार्डमा १५ जनाको नाम छ ।

फरवार्ड सूचीमा परेका बार्सिलोनाका कप्तान लियोनल मेस्सी, लिभरपुलका कप्तान भान डाइक र युभेन्टसका खेलाडी क्रिस्टियानो रोनाल्डो फिफा द वेष्ट अवार्डका लागि अन्तिम नोमिनेसन सूचीमा परेका छन् ।

डाइकको टोली लिभरपुलले च्याम्पियन्स लिग जितेको थियो भने नेदरल्याण्डलाई युईएफए नेसन्स कपको फाइनलमा पुर्याएका थिए ।

रोनाल्डोले पोर्चुगललाई युईएफए नेसन्स लिगको उपाधि जिताएका थिए भने युभेन्ट्सलाई इटालियन सिरी ‘ए’ र कोपा इटालिया जिताएका थिए । मेस्सीले बार्सिलोनाबाट ला लिगाको उपाधि जितेका थिए । उनी च्याम्पियन्स लिगको सर्वा्धिक गोलकर्ता पनि हुन् ।

गोल किपरमा छनोट भएका पाँच मध्ये ‘फिफा वेष्ट गोल किपर’को दाबेदारको सूचीमा बार्सिलोनाका गोल किपर टेर स्टेगेन, लिपरपुलका गोलरक्षक एलिसन बेकर र म्यान्चेस्टार सिटीका गोलरक्षक एडर्सन छन् ।

फिफाले सेप्टेम्बर २३ मा अवार्ड वितरण कार्यक्रम गरी बिजेता घोषणा गर्नेछ ।

सन् २०१८ को फिफा वर्ल्ड ११ को गोल रक्षकमा डेभिड डिहेया, डिफेन्डरमा ड्यानी अल्भास, राफेल भरान, सर्जियो रामोस, मार्सेलो परेका थिए । मिडफिल्डरमा लुका मोड्रिच, एङ्गोलो कान्ते, इडेन हजार्ड परेका थिए भने फरवार्डमा किलियन एम्बाप्पे, लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो परेका थिए ।
एजेन्सी