भदौं १९,काठमाडौं —मेलम्ची खानेपानी आयोजनाबाट पीडित स्थानीय मजदूर र प्रहरीबीच झडप भएको छ ।
आन्दोलनको दोस्रो दिन बिहीवार खानेपानीको मुहान अम्बाथानमा धर्नामा गएका पीडितसँगको झडपमा प्रहरीले अश्रु ग्यास प्रहार गर्नाका साथै हवाइ फायर गरेको छ । तोकेको घेरा नाघ्न खोजेपछि आन्दोलनकारीलाई प्रहरीले रोकेको थियो ।
इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मणिराम लामिछानका अनुसार आन्दोलनकारीले प्रहरीमाथि ढुङगा मुढा प्रहार गर्दा प्रहरीतर्फ प्रहरीहरु उमेश भुजेल, रञ्जित गुरुङ र कुमार नेपाली गरी तीन जना घाइते भएका छन् ।
झडपमा प्रहरीबाट छ राउण्ड अश्रु ग्यास तथा दुई राउण्ड हवाइ फायर भएको छ भने पीडितले ढुङ्गामुढा प्रहार गरेका छन् । आन्दोलनकारीले मेलम्ची आयोजनाको सवारी साधनमा ढुङ्गा प्रहार गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ ।
त्यसैक्रममा आन्दोलनकारीले एक्कासि ढुङ्गामुढा प्रहार गरेपछि प्रहरीले भीड तितरबितर पार्नका लागि हवाइ फायर र अश्रुग्यास प्रहार गरेको लामिछानेले बताए । आयोजनाको बाँधमा नै पुगेर अवलोकन गर्ने भन्दै पीडितहरू अगाडि बढेपछि प्रहरीले रोकेको हो ।