भदौं २०,काठमाडौं — एशीयाली विकास बैंक (एडीबी)द्धारा संचालित पुनर्निर्माण र ऊर्जा उत्पादनसम्बन्धि परियोजनाको प्रगति सन्तोषजनक रहेको पाइएको छ ।
एडीबीले नेपालमा संचालन गरेका परियोजनाबारे समिक्षा गर्न बिहीबार काठमाडौंमा बसेको दाता, सरकार र कार्यान्वयनकर्ताहरुको त्रिपक्षीय समिक्षा बैठकमा एडीबीले लगानी गरेका सो दुई परियोजनाको प्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालिएको हो । एडीबीले हाल नेपालमा ३१ वटा परियोजनामा काम गरिरहेको छ ।
ती मध्ये पुनर्निर्माण र उर्जा उत्पादनको क्षेत्रको काम भने लक्ष्य अनुसार अघि बढिरहेको एडीबीका देशीय निर्देशक मुख्तोर खामुदखानोभले बताए । उनले सो परियोजनाको कामलाई अघि बढाउन नेपाल सरकारले देखाएको तत्परताको पनि खुलेर प्रशंशा गरे ।
एडीबीले नेपाल सरकारको तत्परताकाकै कारण नेपाललाई अधिक ऋण उपलब्ध गराइएको पनि स्पष्ट पारेको छ । एडीबीले हाल नेपालमा २ खर्व भन्दा बढिको परियोजना संचालन गरिरहेको छ । त्यसमध्ये सबैभन्दा बढि लगानी सडक पूर्वाधार, उर्जा र खानेपानीमा रहेका छन ।