भदौं १९,काठमाडौं —संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर समाप्त हुने बताएका छन् ।
मन्त्री पण्डितले सप्तरीको कंचनरुप नगरपालिकालाई प्रदेश २ को बालमैत्री स्थानीय तह घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै जुन कर्मचारीलाई जहाँ खटाइएको छ, तलव सेवा सुविधा पनि त्यहींबाट मात्र पाउँने बताए। हिजो मात्रै मन्त्रालयमा यो निर्णय गरेको मन्त्री पण्डितको भनाई छ ।
तोकिएको ठाउँमा नजाने कर्मचारीले तलव, भत्ता र सुविधा केही पनि नपाउने बताउँदै उनले २१ दिनसम्म पनि तोकिएको ठाउँमा नपुग्ने कर्मचारीको जागिर समाप्तीको बाटो सुरु हुने बताए ।
नयाँ र पुराना राष्ट्रसेवकहरु काम गर्न तयार नभए बेरोजगार रहेका लाखौं युवाहरुका लागि रोजगारीको बाटो खुल्ने उनले बताए । ‘धेरै युवा विदेशमा पसिना चुहाइरहेका छन्,’ मन्त्री पण्डितले भने, “लाखौं युवाहरु बेरोजगार छन्, उनीहरुलाई विदेश पठाउनुभन्दा स्वदेशमै रोजगार दिएर उनीहरुको परिवारमा खुशियाली दिनका लागि संघीय सरकार अघि बढिरहेको छ ।”
मन्त्री पण्डितले लोकसेृवा विज्ञापनलाई लिएर विगतमा भएको आन्दोलनप्रति कटाक्ष बोले । उनले आन्दोलन गर्नेहरुले भ्रम मात्र छरेको बताए ।
स्थानीय तहमा ९१६१ दरबन्दीका लागि साढे ४ लाख युवाहरुले प्रतिस्पर्धा गरिरहेको बताउँदै मन्त्री पण्डितले भने, “तर केही–केहीले भ्रम छरिरहेका छन्, भ्रम छर्नेहरुको ओठमुख सुकेर गयो अनि हराएर पनि गएका छन् ।”
जुनसुकै अवरोध ल्याउन खोजेपनि प्रधानमन्त्री र लालबाबु र पण्डितको जतिसुकै पुत्ला जलाएपनि कामलाई अगाडि बढाउने सन्दर्भमा कसैसँग नडराउने मन्त्री पण्डितले बताए । ‘हामी काम गर्ने सवालमा कसैसँग डराउँदैनौं, अनि कसैको लहै–लहैमा पर्देनौं’ उनले भने ।