विप्लवको चन्दा आतंकले व्यवसायी चिन्तित, बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र

भदौं १९, काठमाडौं — चाडपर्व नजिकिँदै जाँदा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको चन्दा अभियानलाई तीब्रता दिएको छ । केहि समयअघि विप्लव नेतृत्वको पार्टीले कात्तिक महिनासम्म चल्ने चन्दा संकलन अभियान सघाउन भन्दै विज्ञप्तिमार्फत सार्वजनिक अपिल गरेका थिए ।

पार्टीको यो अभियान अहिले बहुराष्ट्रिय तथा वैदेशिक लगानीका कम्पनीमा पुगेको छ । कम्पनीलाई भनेअनुसार चन्दा नदिए आक्रमणको धम्की समेत दिएको छ । उक्त दलले बहुराष्ट्रिय कम्पनीलाई धम्कीयुक्त पत्र पठाएर चन्दा मागेको छ ।

‘राष्ट्रिय पुँजी तथा उद्यमी–व्यवसायीहरू एकाधिकार पुँजी, दलाल पुँजीपतिवर्ग र भ्रष्टहरूको निशानामा रहेको’ भन्दै चन्द नेतृत्वको नेकपाले चन्दाको दबाब बढाएको छ ।  सरकारले भने विप्लवलाई चन्दा नदिन व्यवसायीलाई आग्रह गरेको छ ।

सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले विप्लवलाई चन्दा नदिन र धम्की आएमा सरकारलाई सूचना दिन आग्रह गरेका छन् । सरकारले व्यवसायीलाई सुरक्षा दिने वचन दिए पनि शृंखलाशद्ध आक्रमण र विस्फोटका घटनाका कारण व्यवसायी चिन्तित छन् । यो समाचार अन्नपूर्ण पोस्टमा खबर छापिएको छ ।