भ्रष्टाचारका घटनाको छानबिन गरी कारवाही गर्न काँग्रेसको माग

भदौं १९,काठमाडौं — प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले भ्रष्टाचारका विभिन्न काण्ड र कानून उल्लङ्घन गरी गरिएका निर्णयको छानबिन गरी दोषीमाथि कारवाहीको प्रक्रिया अगाडि बढाउन संवैधानिक छानबिन निकायहरुको ध्यानाकर्षण गराएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको मङ्गलबारको बैठकद्वारा पारित सामसामयिक प्रस्तावका बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलन गर्दै डा प्रकाशशरण महतले जानकारी दिए ।

काँग्रेसले नेपाल वायु सेवा निगमको वाइड बडी तथा न्यारो बडी हवाईजहाज काण्ड, सुनकाण्ड, चिनी काण्ड, बालुवाटार जग्गा काण्ड, विराटनगर जुटमिल काण्ड, मेलम्ची काण्ड, एनसेल कर प्रकरण, बिना प्रतिस्पर्धा निर्णय गरिएको बूढीगण्डकी आयोजनामा भएको अनियमितताको छानबिन गरी कारवाही प्रक्रिया अगाडि बढाउन माग गरेको हो ।