मेलम्ची आयोजना छिटो सक्न संसदीय समितिको निर्देशन

भदौं १९,काठमाडौं — प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मेलम्ची खानेपानी आयोजनाको काम सक्दो छिटो सम्पन्न गर्न निर्देशन दिएको छ ।

आयोजनाका विषयमा छलफल गर्न बुधबार आयोजित बैठकमा सभापति भरतकुमार शाहले मेलम्ची नआउने समयसम्मका लागि वाग्मतीको पानी प्रशोधन गरी वितरण गर्न खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिलाई निर्देशन दिएका हुन् ।

बैठकमा सांसद लेखराज भट्टले मेलम्चीको पानी वितरण गर्न बिछ्याइएको पाइप फुटेर सडकमा पानीले असर गर्दा पनि व्यवस्थापन हुन नसकेकोतर्फ ध्यानाकर्षण गराए ।

सांसद विरोध खतिवडाले सडकमा बिछ्याएको पाइपमा मेलम्चीबाट पानी आउँदा चापमा आउने भए पनि हाल सामान्यरुपमा मात्र हालेर परीक्षण भइरहेकाले पछि हुनसक्ने समस्याका बारेमा अहिल्यै ध्यान दिनेतर्फ सचेत गराएका छन् ।