जिल्ला अदालतको आदेशविरुद्ध सञ्चारकर्मी लामिछानेद्वारा उच्च अदालतमा निवेदन दर्ता

 

भदौं १७,काठमाडौं — सञ्चारकर्मी रवि लामिछानेले चितवन जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका छन् ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन प्रकरणमा चितवन जिल्ला अदालतले गत भाद्र ९ गते लामिछानेसहित युवराज कँडेललाई जनही ५ लाख र ३ लाख धरौटीमा रिहा गरेको थियो । उक्त आदेश बदर गरि पाऊँ भन्दै मंगलबार उच्च अदालत पाटन, हेटौंडा इजलाशमा निवेदन दर्ता गराएका हुन् ।

निवेदनमा फौजदारी कार्य्विधि संहिता २०७४ को दफा ७३ बमोजिम चितवन जिल्ला अदालतको सो आदेश बदर गरि साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरि पाऊँ भनिएको छ । निवेदन उपर उच्च अदालत पाटन, हेटौंडा इजलाशले बुधबार प्रारम्भिक सुनुवाई गर्नेछ ।

पत्रकार पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटलमा झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । उनले मर्नु अघि बनाएको भिडियोमा रवि, युवराज र प्रेमिका भनिएकी अस्मिता कार्कीको नाम लिएका थिए । उनले भिडियोमा तीनै जनाको कारण आफु मर्न बाध्य भएको भन्दै कडा कारवाहीको माग गरेका थिए ।