ओमानमा हुने टी–२० क्रिकेट सिरिजमा ज्ञानेन्द्र नखेल्ने

भदौं १७,काठमाडौं — नेपालका उपकप्तान ज्ञानेन्द्र मल्लले पाँच राष्ट्रबीच ओमानमा आयोजना हुने टी–२० क्रिकेट सिरिज नखेल्ने भएका छन् ।

यही असोज १८ देखि २३ सम्म हुने प्रतियोगितामा ज्ञानेन्द्रले व्यक्तिगत कारण उक्त प्रतियोगिता नखेल्ने बताएका हुन् ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

नेपालले आफ्नो पहिलो खेल असोज १९ गते हङकङसँग प्रतिस्पर्धा गर्दैछ । दोस्रो खेलमा असोज २० गते नेदरल्यान्डसँग खेल्ने नेपालले आफ्नो तेस्रो खेल आयरल्याण्डसँग २२ प्रतिस्पर्धा गर्नेछ । अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी–२० विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।