भारतमा ५ राज्यमा नयाँ राज्यपाल नियुक्त

भदौ १५,काठमाडौं – भारतका राष्ट्रपति रामनाथ कोविन्दले पाँच राज्यमा नयाँ राज्यपाल नियुक्त गरेका छन् ।

सन् १९८० को दशकमा चर्चित शाहबानो मुद्दामा राजीव गान्धी सरकारको मन्त्रीपदबाट राजीनामा दिएका आरिफ मोहम्मद खानलाई केरलको गभर्नर बनाइएको छ ।

तमिलनाडुमा भाजपा प्रदेश अध्यक्ष डा तमिलिसाई सुन्दरराजनलाई तेलंगानाको राज्यपाल बनाइएको छ र ५८ वर्षको उमेरमा राज्यपाल बन्ने उनी सबभन्दा कान्छी व्यक्ति हुन् ।

कलराज मिश्रलाई राजस्थान, नेपाल(भारत प्रबुद्ध समूहका भगत सिंश कोशियारीलाई महाराष्ट्र र बन्डारू दत्तात्रेयलाई हिमाचल प्रदेशको गभर्नर बनाइएको छ ।

कांग्रेसमा रहेका आरिफ मोहम्मद खान लामो समयदेखि सक्रिय राजनीतिमा थिएनन् । उनले वन्दे मातरम् लाई ऊर्दूमा अनुवाद समेत गरेका थिए । केन्द्र सरकारले तीन तलाकलाई अन्त्य गरेको र कश्मीरसम्बन्धी धारा ३७० खारेज गरेकोलाई उनले प्रशंसा गरेका थिए ।

कोशियारी उत्तराखण्डमा भाजपा प्रदेश अध्यक्ष थिए । उनी सन् २००१ देखि २००२ सम्म राज्यका मुख्यमन्त्री पनि थिए । उनी शिक्षक र पत्रकार समेत भइसकेका व्यक्ति हुन् । भारतमा संकटकाल लागेको बेलामा सन् १९७७ मा उनी जेल गएका थिए ।

दैनिक भास्करबाट