सुडान घोटाला प्रकरणका दोषी शम्भु भारती पक्राउ

भदौं १३,काठमाडौं —चर्चित सुडान घोटालाका प्रकरणमा दोषी ठहर भएका शम्भु भारतीलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीले सुडानमा खटिने राष्ट्रसंघीय मिसनका लागि आवश्यक सामग्री खरीदमा भएको घोटाला उनलाई दोषी ठहर गरेको थियो । दुई वर्षदेखि फरार रहेका भगवती ट्रेडर्सका सञ्चालक ४९ वर्षीय शम्भु भारतीलाई सिआइबीको टोलीले शुक्रबार ललितपुर भैसेपाटीबाट पक्राउ गरेको हो ।

ठेकेदार भारतीले सुडानको डार्फरमा शान्ति मिसनका लागि गएको नेपाल प्रहरीका लागि बन्दोबस्तीको सामान खरिदगर्दा मुख्य आपूर्तिकर्ता ‘एस्योर्ड रिक्स कम्पनी लण्डन’को तर्फबाट स्थानीय प्रतिनिधि भइ भ्रष्टचार गरेका थिए । उनले सुडानको डार्फरमा खटिने नेपाल प्रहरीको एफपीयुको लागि आवश्यक बन्दोबस्तीका सामान खरिद गर्न आफैं एजेण्ट भएको उक्त कम्पनीलाई ठेक्का पारेर सम्झौताका सर्तहरु फेरबदल गरि ‘आइएसओ स्ट्यान्डर्ड’को ‘एपिसी’को सट्टामा ८ थान पुराना र काम नलाग्ने एपिसी सप्लाई गराएका थिए ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपक रेग्मीले विशेष अदालतबाट दोषी ठहरपछि फरार भएका भारतीलाई पक्राउ गरेको जानकारी दिए । भारतीलाई अदालतले एक वर्ष कैद र रु १४ करोड २० लाख आठ हजार जरिवाना तोकेको थियो । डडेलधुरा निवासी भारती हाल ललितपुरको भैँसेपाटी बस्दै आएका थिए । पक्राउ परेका भारतीलाई फैसला कार्यान्वयनका लागि ब्यूरोले शुक्रबार नै अदालतमा पेश गरेकोमा अदालतले उनलाइ जेल चलान गराएको छ ।

अदालतले सुडान घोटालाको मुद्दामा तत्कालीन महानिरीक्षकहरु ओमविक्रम राणा, हेमबहादुर गुरङ, रमेशचन्द्र ठकुरीलाई दोषी ठहर गरी सजायसमेत गरिसकेको छ ।