भदौं १३,काठमाडौं — अर्थमन्त्री डाक्टर युवराज खतिवडाले सबै नागरिकलाई अनिवार्य रुपमा प्यान कार्ड लिन सुझाव दिएका छन् ।
नेपाल चेम्बर अफ कमर्सले शुक्रबार राजधानीमा गरेको अन्तरक्रियामा मन्त्री खतिवडाले अनौपचारिक व्यवसाय र आय आर्जनलाई औपचारिक व्यवसाय र आयआर्जनमा लैजाने काम प्यान नम्बरले गर्ने भएकाले यसलाई ठूलो विषय बनाउनु नपर्ने बताएका हुन् ।
उनले देशका नागरिकका लागि नागरिकता अनिवार्य विषय भए जस्तै सरकारले दिने सेवा सुविधा लिनका लागि पनि हरेकले कर दाता परिचयपत्र लिनुपर्ने बताएका हुन् । उनले अनौपचारिक व्यवसायलाई औपचारिक प्रणालीमा ल्याउनका लागि नै ढुवानी सेवामा मुल्य अभिवृद्धि कर लगाइएको स्पष्ट पारे ।
उनले ढुवानीका साधन एउटाको, मालिक अर्कै र व्यवसाय अर्कैले चलाउने अस्तव्यस्त आर्थिक कारोबार र व्यवसायलाई प्रणालीमा ल्याउनका लागि मुल्य अभिवृद्धि करको अर्को विकल्प नभएको बताए । उनले नीतिगत व्यवस्थाका कारण अन्तरदेशीय व्यापारलाई औपचारिक गराएर पनि व्यवस्थित गर्न नसकिएको बताएका हुन् ।