भदौं ११ —इन्डोनेसियामा बालिकाको बलात्कार गर्ने एक अभियुक्तलाई नपुंसक बनाउने सजाय दिइएको छ । यस्तो सजाय देशमा पहिलोपटक दिइएको हो ।
मुह आरिस बिन स्युकुर नामक ती व्यक्तिलाई ईस्ट जाभामा रहेको अदालतले सजाय तोकेको हो । हालै पारित एक नियमावलीले बाल यौन दुराचारीलाई मृत्युदण्ड र नपुंसकताको सजाय दिने व्यवस्था गरेको छ ।
‘बालबालिकाविरुद्ध हुने यौन हिंसाका कारण आएको संकटबाट पार पाउन यो नियमावली बनाइएको हो,’ राष्ट्रपति जोको विडोडोले प्रमाणीकरणका बेलामा बताएका थिए ।
आरिसले सन् २०१५ देखि २०१८ सम्म मोजोकर्तोमा नौजना बालिकाको बलात्कार गरेका थिए । उनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो ।
सुई लगाएर नपुंसक बनाउने सजायको व्यवस्था गरिएको भए पनि त्यसको साधन इन्डोनेसियामा छैन ।
त्यसैले गर्दा आरिसलाई सजाय दिइने मिति निर्धा्रित गरिएको छैन ।
त्यसमाथि स्वास्थ्य सेवाका मानिसले रासायनिक रूपमा नपुंसक बनाउने काम आफूहरूको नैतिकतामा नपर्ने बताएका छन् ।
‘चिकित्सकहरूलाई सजाय दिने व्यक्ति नबनाउनुस्,’ इन्डोनेसिया चिकित्सक संघका अध्यक्ष इल्हाम ओएटामा मार्सिसले सन् २०१६ मा आधिकारिक वक्तव्य जारी गर्दै भनेका थिए, ‘वैज्ञानिक प्रमाण हेर्दा रासायनिक रूपमा नपुंसक बनाउँदा पीडकको यौन हिंसाप्रतिको लालसा अन्त्य हुने देखिएको छैन ।’
एजेन्सी