भदौ १०,काठमाडौं— प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले भिडियो कन्फ्रेन्सका माध्यमबाट मन्त्रिपरिषद्को बैठक बस्ने कार्य विधि शासनविपरीत भएको जनाउँदै आपत्ति प्रकट गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली काँग्रेसका सांसदहरुले यथास्थानबाट उठेर सभामुखको ध्यानाकर्षण गराउँदै भिडियो कन्फ्रेन्सबाट मन्त्रिपरिषद् बैठक गरेकोमा आपत्ति जनाएका हुन् ।
नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले भने, ‘उच्च र आधुनिक प्रविधिको प्रयोग गर्नु राम्रो पक्ष हो, पछिल्लो कार्य्विधि संशोधनबाट अधिकारको दुरुपयोग भएको छ । प्रधानमन्त्री स्वदेशमा नभए पनि उहाँकै अध्यक्षतामा बैठक सञ्चालन गर्नु ठीक होइन, भिडियो कन्फ्रेन्सबाट बैठक गर्दा सूचना चुहिने मात्र होइन, लिएको शपथ विपरीत हुन जान्छ ।’
प्रमुख सचेतक खाँणले प्रधानमन्त्री बाहिर जाँदा उनको कार्यभार सम्हाल्ने व्यवस्थाअनुसार कार्यभार तोकिएको जानकारी सभामुखले संसद्लाई गराइसकेको बताउँदै प्रधानमन्त्री अध्यक्षतामा भिडियो कन्फ्रेन्सबाट बैठक बस्दा कार्यभार तोकिनुको अर्थ के रह्यो भनी प्रश्न गरे ।
उनले प्रधानामन्त्री काठमाडौंमा उपलब्ध नभएको बेलामा पनि भिडियो कन्फ्रेन्सको माध्यमबाट मन्त्रिपरिषद् बैठक चलाउन मिल्ने कार्य्विधिमा संशोधन गरिएको बताउदै यो अनुचित भएको जनाए । यसबाट सूचना चुहिने र गोपनियता पनि लिक भएर जानेप्रति सरकारको ध्यानाकर्षण गराए ।
प्रमुख सचेतक खाँडले नेपाली कांग्रेसको तर्फबाट स्वास्थ्य उपचारको क्रममा सिंगापुरमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गरे ।