भदौ ८,काठमाडौं —गत साउनको शुरुआतदेखि नै निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य आज बजारमा अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासघंका अनुसार आज (आइतबार) छापावाला सुनको मूल्यमा प्रतितोला एक हजार २ सय रुपैयाँले वृद्धि भएर सुनको मूल्य प्रतितोला ७२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
यस्तै तेजाबी सुनको मूल्यमा पनि प्रतितोला एक हजार २ सयका दरले वृद्धि भएको छ । स्थानीय बजारमा तेजाबी सुनको मूल्य प्रतितोला ७२ हजार २ सय पुगेको छ ।
त्यसै गरि चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ । चाँदीको मूल्यमा आज प्रतितोला २० ले वृद्धि भएको छ । स्थानीय बजारमा चाँदीको मूल्य प्रतितोला ८५० पुगेको महासघंले जनाएको छ ।
पछिल्लो समय अन्तर्रा्ष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर बढिरहेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔँस एक हजार ५२८.५० अमेरिकी डलर पुगेको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा परेको हो ।
अमेरिकी डलरको दर बढेसँगै सुनको मूल्य पनि वृद्धि हुन थालेको हो । चीन–अमेरिका व्यापार टकराव, इरान–अमेरिका विवादले पनि सुनको भाउ बढाउन सहयोग गरेको बताइन्छ ।