भदौ ८,काठमाडौं —जिल्ला सरकारी वकिल कार्यालय चितवनले सञ्चारकर्मी रवि लामिछानेसहित तीन जनाविरूद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सञ्चारकर्मी लामिछाने र युवराज कंडेल तथा नर्स अस्मिता भनिने रुकु कार्कीविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको प्रमुख जिल्ला सरकारी वकिल यदुनाथ शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय चितवनले अनुसन्धान सकेर आइतबार नै प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।
यसअघि पूर्वसहकर्मी शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरूत्साहन गरेको आरोपमा ८ दिनअघि पक्राउ परेका उनीहरूको अनुसन्धान प्रतिवेदन प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय चितवनमा पेश गरेको थियो ।
उक्त कार्यालयले प्रतिवेदन अध्ययनपश्चात अदालतमा मुद्दा दर्ता गरेको हो । प्रतिवेदनमा पर्याप्त प्रमाण भेटिएपछि मुद्दा चलाउने निर्णय वकिल कार्यालयले गरेको हो । अब अदालतले उनीहरूको थुनछेक बयान लिनेछ । बयानपश्चात उनीहरूलाई थुनामै राखेर मुद्दा अघि बढाउने, धरौटी माग्ने वा साधारण तारेख छोड्नेबारे बहस हुनेछ ।
बहस सकेपछि अदालतले आवश्यक निर्णय गर्नेछ । आफ्ना पूर्वसहकर्मी शालिकराम पुडासैनीको आत्महत्याको दुरूत्साहन गरेको भन्दै लामिछानेसहित तीन जनालाई साउन ३० गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले रवि लामिछाने, अस्मिता कार्की र युवराज कँडेललाई पक्राउ गरेको हो।
माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा बाहिरिएको भिडिओपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।