भदौ ८— बार्सिलोना स्टार लियोनल मेस्सी पुन टिम बाहिर परेका छन् । शनिबार हुने रियल बेटिसविरुद्वको खेल अगाडी उनी टिम बाहिर परेका हुन् । उनी टिमको अन्तिम अभ्यास सत्रमा समेत सहभागी भएनन् ।
मेस्सी पिँडुलाको चोटबाट मुक्त हुँदै मैदान फर्कने तयारीमा छन् । कोपा अमेरिकामा सहभागी भएका मेस्सीले प्रि–सिजनका अधिकांश खेल गुमाएका थिए ।
लगत्तै अभ्यास सत्रमा फर्किएका उनले चोट बोकेका थिए । सोही कारण उनले एथ्लेटिको क्लबविरुद्वको लिगको पहिलो खेल गुमाएका थिए ।
अन्तिम समयमा गोल खाएपछि सो खेलमा लिग च्याम्पियन बार्सिलोना एथ्लेटिको क्लबसंग १–० ले पराजित भएको थियो ।
लुईस स्वारेज र उसमान डेम्बेलेले चोट बोकेपछि क्लबले लिगको दोस्रो खेलमा मेस्सी फर्कन सक्ने आशा राखेको थियो । तर स्टार मेस्सीले पुन लिगको दोस्रो खेल समेत गुमाउने भएका छन् ।
उनी शनिबारको पुरै अभ्यासमा समेत सहभागी भएनन् । सोही कारण उनी बेटिसविरुद्वको टिममा समेत परेका छैनन् ।
यसअघि बार्सिलोनाका प्रशिक्षक इर्नेस्टो भाल्भर्डेले मेस्सीको बिषयमा कुनै खतरा मोल्न नचाहेको भन्दै बेटिसविरुद्वको खेलमा उनी फर्कन सक्ने बताएका थिए ।
’हामी कुनै खतरा मोल्न चाहदैनौ ।’ भाल्भर्डेले भने, ’हामी प्रतिक्षा गरिरहेका छौ र उनको तयारलिाई हेरिरहेका छौ ।’
अर्जे्न्टिनी स्टार मेस्सी कोपा अमेरिकामा तेस्रो स्थानका लागि भएको खेल पछि मैदानमा देखिएका छैनन् ।
उनको अनुपस्थितीमा बार्सिलोनाको आक्रमण लाईनमा ठुलो समस्या देखिएको छ ।
मेस्सीले गत सिजन ३६ गोल गर्नुका साथै १३ गोलको अवसर सिर्जना गरेका थिए । सोही आधारमा बार्सिलोनाले लिग उपाधि जितेको थियो ।
एजेन्सी