प्रदेश नं २ मा हरित प्रदेश अभियान शुरु, तीन लाख बढी वृक्षरोपण गरिने

भदौं ८,काठमाडौं — प्रदेश नं २ लाई हरित प्रदेश बनाउने योजनाका साथ प्रदेश २ मा आठ वटै जिल्लामा शनिबारदेखि हरित प्रदेश अभियान शुरु गरिएको छ । वन, वातावरण तथा चुरेक्षेत्र संरक्षणका लागि प्रदेश सरकारले तीन लाखभन्दा बढी वृक्षरोपण गर्ने उद्देश्यका साथ आठ वटै जिल्लामा वृक्षरोपण शुरु गरेको हो ।

सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ मा शनिबार एकै दिन पाँच हेक्टर जग्गामा दुई हजार २०० बिरुवा रोपेर अभियान शुरु गरिएको हो । प्रदेश सरकारको नीति तथा कार्यक्रम अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले गत वर्षदेखि शुरुआत गरेको ‘हरित प्रदेश अभियान’ अन्तर्गत अभियान शुरु गरिएको बताइएको छ । मन्त्रालयले १९१.२२ हेक्टर क्षेत्रफलमा वृक्षरोपण गर्न लागेको छ ।

सङ्घ र प्रदेश सरकारको क्षेत्राधिकारको विषयमा विवादमा रहेको सागरनाथ वन विकास परियोजनामा मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले वनजङ्गलको संरक्षण संवद्र्धन गर्ने उद्देश्यले प्रदेश नं २ मा तीन लाख छ हजार बोटबिरुवा रोप्ने योजना लिएको छ । रासस