भारतको एक मन्दिरमा भागदौड परी ४ जनाको ज्यान गयो

भदौ ६,एजेन्सी — पूर्वी भारतीय राज्य पश्चिम बंगालको एक मन्दिरमा रहेका तीर्थालुहरूबीच शुक्रवार भएको भागदौडमा परी चार जनाको ज्यान गएको बताइएको छ ।

सो भागदौडमा परी अरू कैयौं व्यक्ति नराम्ररी घाइते भएका छन् । शुक्रवार कृष्णाष्टमीको अवसरमा पूजाआजा गर्न गएका हिन्दू तीर्थालुहरूबीच सो भागदौड भएको बताइएको छ ।

उत्तरी पारागन जिल्लामा रहेको भगवान श्रीकृष्णको मन्दिर ‘काछु’ मन्दिरमा भएको भागदौडमा ती व्यक्तिको ज्यान गएको समाचारमा जनाइएको छ ।

उक्त मन्दिर परिसरमा रहेको पर्खाल अकस्मात भत्किएपछि पूजा आराधनाका लागि ठूलो संख्यामा उपस्थित ती तीर्थालुबीच भागदौड मच्चिएको थियो ।

उक्त दुर्घटनामा परी घाइते भएकाहरूलाई नजिकैको अस्पताल र्पुयाइएको छ । घाइते के कतिजना छन् भन्ने बारेमा पूर्ण विवरण आएको छैन ।

कृष्णाष्टमी पर्व हिन्दू धर्मावलम्बीहरूले भगवान श्रीकृष्णको जन्म दिनको रूपमा उनको पूजा आराधना गरी भव्य रूपमा मनाउने गर्छन् ।

भारतमा हिन्दू धर्मावलम्बीहरू विभिन्न तीर्थस्थलमा भीड लाग्ने र भागदौडबाट कैयौं नागरिकको ज्यान जाने गरेका समाचारहरू आउने गर्छन् ।