भदौं ३,काठमाडौं — पश्चिम नेपालको प्रसिद्ध शक्तिपीठ बागेश्वरी मन्दिरको ८४ बिघा जग्गा विभिन्न व्यक्तिका नाममा रहेको तथ्य बाहिरिएको छ । जिल्लाको साबिक इन्द्रपुर गाविसमा रहेको मन्दिरको जग्गा ३ सय व्यक्तिले आफ्नो नाममा गराई लालपुर्जासमेत लिइसकेका छन् ।
इन्द्रपुर ‘क’ अन्तर्गत कित्ता नं २३, २९, ३५, १७, ३७, २८०, १०८ र १५६ को २ बिघा ३ कट्ठा ८ धुर जग्गा गोकर्ण कुर्मीको नाममा गएको देखिन्छ । यस्तै इन्द्रपुर–३ ‘क’ अन्तर्गत कित्ता नं. ६१२ को १५ कट्ठा ६ धुर जग्गा अब्दुल हसिब सिद्धिकीका नाममा रहेको छ ।
गोकर्ण र सिद्धिकीले जस्तै अरूले पनि मन्दिरको जग्गा ‘रैकर’ मा परिणत गरी आफ्नो नाममा गराएको पाइएको छ । कतिपयले आफ्नो नाममा पारिएको जग्गा बिक्रीसमेत गरिसकेका छन् ।
छानबिन समितिले मन्दिरको ८४ बिघा जग्गा अरुकै नाममा रहेको पत्ता लगाएपछि अहिले बागेश्वरी मन्दिरको सम्पत्तिबारे सर्वत्र चासो बढ्न थालेको छ । यो समाचार आजको नागरिक दैनिकबाट लिएका हौं ।