पुडासैनीको परिवारद्धारा रवि लमिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

भदौं १,काठमाडौं — पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानबिन गर्न माग गर्दै टेलिभिजन कार्यक्रम सञ्चालक रवि लामिछानेविरुद्ध पुडासैनीको परिवारले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौं मार्फत् आइतबार किटानी दिएकी हुन् । उनको किटानी जाहेरी चितवन पठाइने छ ।

सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीबिरुद्ध पनि किटानी दिएकी हुन् ।

पुडासैनीले मृत्यु हुनुअघि रेकर्ड गरेको भनिएको भिडियो सामग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो।

गत साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।