भदौं १,काठमाडौं —नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्ने भएको छ ।
बैठक आज दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको हो । यसअघि शुक्रबार ३२ केन्द्रीय विभागको जिम्मेवारी तोक्दै एकीकरण प्रक्रिया लगभग पूरा गरेको नेकपाको केन्द्रीय सदस्यको कार्य्विभाजन, पोलिटब्युरो गठन, जनवर्गीय सङ्गठनका इञ्चार्ज र सहइञ्चार्ज निर्धारणको काम बाँकी छ ।
सम्पर्क समन्वय कमिटी, विशेष प्रदेश कमिटी, प्रवास सङ्गठनको एकता बाँकी रहेको छ । यसैगरी ज्येष्ठ कम्युनिष्ट मञ्च, अनुुशासन आयोग, लेखा आयोग, राष्ट्रिय परिषद् सदस्य गठन लगायतका काम बाँकी छन् । अहिलेसम्म सचिवालय, स्थायी कमिटी, प्रदेश कमिटी, प्रदेश इञ्चार्ज, जिल्ला इञ्चार्ज र सहइञ्चार्ज, जनसङ्गठनका संयोजक र सहसंयोजक तथा जिल्ला र स्थानीय तह कमिटीका अध्यक्ष र सचिवको जिम्मेवारीको टुङ्गो लागेको छ ।