साउन २६, काठमाडौं – गत शुक्रबार धादिङको सलाङघाटबाट त्रिशुलीमा बस खसेर ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।
सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.६ ख ७४६९ नम्बरको न्यू सृष्टि डिलक्स बस बेनिघाट रोराङ गाउँपालिका ३ सलाङघाटबाट त्रिशुली नदीमा खसेको थियो ।
दुर्घटनामा परी घाइते भएका ३ जनाले काठमाडौंको ट्रमा सेन्टरमा उपचार गराईरहेका छन् । १३ जना उपचार पछि डिस्चार्ज भएका छन् ।
दुर्घटनामा मृत्यु भएका ९ जनाको शव आफन्तले बुझिसकेका छन् । तनहुँ देवघाट गाउँपालिका ५ घिनटार नजिक भेटिएका करिब ४५ वर्षीय पुरुषको शव भने सनाखत भएको छैन ।
ट्रमा सेन्टरमा उपचार गराईरहेकामध्ये भारत सितामढीका ४० वर्षीय धिरेन्द्र कुमार, सर्लाही कविलासका ३२ चर्षीय विजय यादव र सर्लाही हरिहरका बस चालक ४० वर्षीय जिवन विक रहेका छन् ।
चालक विकको अवस्था गम्भीर रहेको छ । अन्य २ जना बोल्न सक्ने अवस्थामा छन् ।
बसमा चालक, सहचालक, कन्डक्टर ४१ जना सवार रहेको बुझिएको छ । दुर्घटनामा बेपत्ता अन्यको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।