साउन २२,काठमाडौं – सप्तरीमा गर्भवती बुहारीको हत्या आरोपमा उनका सासु र ससुरा मंगलवार पक्राउ परेका छन् ।
सप्तरी प्रहरीले अग्नीसाइर कृष्णसवरण गाउँपालिका–३ की गर्भवती १९ वर्षीया रञ्जुदेवी यादवको हत्या आरोपमा उनकी सासु ४५ वर्षीया लीलादेवी यादव र ससुरा ५५ वर्षीय महेन्द्र यादवलार्ई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालका अनुसार आरोपितले घाँटी थिचेर हत्या गरेको आरोपमा पक्राउ गरी कर्तव्य ज्यानको उजुरी दर्ता गरिएको छ ।
साउन ५ गते राति राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याउँदा पीडितको मृत्यु भइसकेको थियो । मृतक ३ महिनाकी गर्भवती रहेकी थिइन् ।
मृतकको घाँटीमा डोरीको निलडाम र शरीरमा चोटपटक लागेको देखेपछि मृतकका दाजु रामसेवक यादवले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।