झुटो विवरणका आधारमा भारतीयलाई नेपाली नागरिकता दिने कर्मचारमाथी अनुसन्धान सुरु

साउन २२, काठमाडौं– भारतीय नागरिकलाई नेपाली नागरिकता दिने कर्मचारीमाथी छानविन सुरु भएको छ ।

गृह मन्त्रालयले नेपाली भएको सिफारिस गरी भारतीय नागरिकलाई नागरिकता दिने कर्मचारीमाथी अनुसन्धान सुरु गरेको हो ।

धनुषा र महोत्तरीका विभिन्न स्थानबाट आठ भारतीय नागरिकले नेपाली नागरिकता लिन झुटो विवरण पेस गरेका थिए ।

झुटो विवरण पेश गरी नागरिकता लिने भनिएका आठ व्यक्तिको प्रमाणपत्र रद्द गरिएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताएपछि तत्कालीन कर्मचारीमाथि अनुसन्धान सुरु गर्ने भनिएको हो ।

झुठो विवरण द्धारा नागरिकता लिने भारतीय नागरिक अशोक शाह, बिन्दे महतो, दानादेवी महतो, सोसिल महतो, राजेन्द्र महतो, राजेश्वर महतो, रामकिशोर महतो र राजकुमार महतोको नागरिकता मन्त्रिपरिषद्को बैठकले रद्द गरेको छ ।

धनुषाबाट बिन्दे र राजेन्द्रले २०४४ मा, राजेश्वरले २०३५ मा, दानादेवीले २०३५ मा, रामकिशोरले २०५३ मा, सोसिलले २०५८ मा र राजकुमारले २०६१ सालमा नागरिकता लिएको गृहमन्त्रालयले जनाएको छ ।

उनीहरू भारतीय नागरिक भएको थाहा भएपछि जिल्ला प्रशासन कार्यालय धनुषाले जाँचपडताल गरी नागरिकता रद्द गर्न गृह मन्त्रालयमा पत्र पठाएको थियो ।

गृह मन्त्रालयले मन्त्रिपरिषद्मा पठाएपछि उनीहरुको नागरिकता रद्द भएको गृह मन्त्रालयले जनाएको छ ।

झुटो विवरण पेस गरी नागरिकता लिने र दिने दुवैलाई कारबाही गर्न मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको छ ।

मन्त्रालयले १० वर्ष यता झुटो विवरणको आधारमा लिएका ३ सयभन्दा बढीको नागरिकता रद्द गरिसकेको छ ।

झुटो विवरआधारमा नेपाली नागरिकता प्राप्त गर्ने कुनै पनि विदेशीले १ देखि ५ वर्षसम्म कैद वा ५० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ ।
त्यसैगरी लिइएको नागरिकता स्वतः रद्द हुने व्यवस्था छ । झुटो विवरणमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई ६ महिनादेखि ३ वर्षसम्म कैद वा २५ देखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।

कसैले सक्कल नागरिकताको प्रमाणपत्रमा भएको विवरणमा आपूmखुसी थपघट गरेमा वा सच्याएमा त्यस्तो कार्य गर्ने, गराउने व्यक्तिलाई तीन महिनासम्म कैद वा १० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।