त्रिविको नियुक्ति लज्जास्पद भन्दै निर्णय सच्याउन डा. केसीको आग्रह

साउन २१, काठमाडौं – डा. गोविन्द केसीले त्रिवि सेवा आयोगमा दलीय भागबन्डाका आधारमा गरिएको नियुक्ति सच्याउन माग गरेका छन् ।

उनले भागबन्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद भन्दै निर्णय सच्याउन मंगलबार विज्ञप्ति निकाल्दै आग्रह गरेका हुन् ।

विज्ञप्तिमार्फत केसी भन्छन् ‘त्रिवि सेवा आयोगभित्र भ्रष्टाचारको विकराल अवस्था हालसालै सतहमा आएकोमा फेरि भागबन्डाका आधारमा नियुक्ति गरिनु लज्जास्पद कुरा हो । उक्त कदम सच्याएर योग्यताका आधारम नयाँ नियुक्ति गर्न पनि आग्रह गर्दर्छौ’ ।

डा. केसीले योग्यता र वरिष्ठताको आधारमा नियुक्ति हुनुपर्ने भन्दै ‘विश्वविद्यालय तथा प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदल’ को सुझाव कार्यान्वयन गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन्। उनले देशमा उच्च शिक्षाको अहिलेको अस्तव्यस्तता कायम राखी लहडको भरमा कुनै विश्वविद्यालय नथप्न पनि सरकारलाई आग्रह गरेका छन्।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायत शैक्षिक कार्यक्रम सञ्चालनको व्यवस्था गर्न सरकारलाई स्मरण गराउँदै डा. केसी विभिन्न विश्वविद्यालयहरुको नियुक्तिमा फेरि विगतमा झैं दलीय भागबन्डा भएमा जस्तोसुकै आन्दोलन गर्ने चेतावनी दिएका छन्।

आयोग अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल र सदस्यमा प्राध्यापक हेमराज ढकाललाई प्रधानमन्त्री तथा कुलपति केपी ओलीले नियुक्त गरेका थिए । पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्वमाओवादी निकट हुन् ।