साउन २१, काठमाडौं – चाबहिल–चुच्चेपाटी खडकखण्डका स्थानीयवासीलाई धुलाम्मे र हिलाम्मे सहन हम्मे हम्मे परिसकेको छ । सडक बनेपनि कालोपत्रे नगरिएको भन्दै हिलो र धुलो सहन नसकेपछि स्थानीबासीहरु फेरी आन्दोलनमा उत्रेका छन् ।
सडक निर्माण सुरु भएको लामो समय बितिसक्यो तर कालोपत्रे हुन नसकेपछि बौद्धवासी आन्दोलित भएका हुन् । मंगलबार बिहान उनीहरुले केही बेर यातायात अबरुद्ध पारेर विरोध गरे ।
यसपाली ढल निर्माण गर्नुपर्ने पनि उनीहरुको माग छ । ढल व्यवस्थापन नहुँदा वर्षामा स्थानीवासीको घरभित्रै पानी पस्ने समस्या देखिएको छ ।
यसअघि गत वैशाख २६ गते पनि सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयवासीहरु प्रदर्शन गरेका थिए । प्रदर्शनमा प्रहरी र स्थानीयबीच झडप भएको थियो ।
तत्काल सडक मर्मत गर्ने सहमति भएकाले आन्दोलन स्थगित भएको मत्थर थियो । आज मंगलबार पनि वडा नं. ७ को कार्यालयमा यस्तै सहमति गरिएको छ ।
तत्कालका लागि डोजर लगाएर ढलको समस्या समाधान गर्ने सहमति गरिएपनि कालोपत्रे भने वर्षा सकिएपछि सुरु गर्ने सहमति भएको महानगरीय प्रहरी वृत्त, बौद्धका डीएसपी नरेन्द्र चन्दले बताए ।