सरकारका प्रवक्ताले आफु बिरुद्ध भ्रम छरेको राजेन्द्र महतोको आरोप

साउन २०, काठमाडौं —राष्ट्रिय जनता पार्टीका सांसद राजेन्द्र महतोले सरकारका प्रवक्ताले आफ्नो नाममा भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै उनले आफु लगायत ८ जनाको नागरिकता बदर गरिएको जानकारी दिएर चरित्र हत्या गर्न खोजिएको बताए ।

उनले कुन राजेन्द्र महतोको नागरिकता खारेज गरिएको हो भन्दै प्रश्न गरे । उनले भने, ‘कुन नियतले हो ? यो सरकार चौतर्फी रुपमा असफल त भइरहेकै हो । यो भ्रमको खेती गरेर के गर्न खोजेको हो सरकारले ? राजेन्द्र महतोको राष्ट्रियता माथिको प्रश्न उठाउँदै भ्रम छर्ने काम यो के गरेको ? सरकारको नियतमाथि नै प्रश्न उठेको छ । सरकारले यसरी भ्रम फैलाउने काम गर्नुहुन्न् । मान हानी गर्न पाइँदैन । सरकारले माफी माग्नुपर्छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले आईतबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा राजेन्द्र महतो लगायत ८ जनाको नागरिकता खारेज भएको जानकारी गराएका थिए ।