हराएका दिदी बहिनी भारतको पूर्णियामा भेटिए

साउन २०,काठमाडौं – गत साउन १४ गतेदेखि बेपत्ता भएका झापा बिर्तामोड–४ का दुई किशोरी भारतको पूर्णियामा भेटिएका छन् । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक मोहन थापाका अनुसार इन्टरपोलसँगको सहकार्यमा बेपत्ता भएकी १६ वर्षीया पूजा र १४ वर्षीया पुजन साह भारतमा भेटिएको प्रहरीले जनाएको छ ।

स्थानीय ग्लोरी अङ्ग्रेजी बोर्डिङ स्कूलमा अध्ययनरत उनीहरु गत साउन १४ गते विद्यालय हिँडेपछि घर नफर्किएका हुन् । विद्यालयबाट घर नफर्केपछि उनीहरुको परिवारले प्रहरीलाई खबर गरेको थिए ।

बेपत्ता बनेका किशोरी दिदी बहिनी हुन् । मानव बेचबिखन गर्नेको हात पर्न सक्ने सम्भावना भएकाले घटनालाई संवेदनशीलरुपमा लिएर आफूले अनुसन्धान अघि बढाइएको बताउँदै भारतीय प्रहरी र माइती नेपालसँग सहकार्य गरी उनीहरुको खोजी गरेको थियो ।

“बेपत्ता बनेका दिदी बहिनीले बोकेको मोबाइलमा भारतको लखनउ ट्रयाक गरेपछि भारतीय प्रहरीसँग समन्वय गर्न प्रहरी प्रधान कार्यालय र नेपालको इन्टरपोलले भारतको इन्टरपोलसँग सम्पर्क गरेको हो । भारतको पूर्णियामा फेला परेका किशोरीलाई सोमबार नेपाल ल्याइने प्रहरीले जनाएको छ ।रासस