भारतले जित्यो टी–ट्वान्टी सिरिज

साउन २०, एजेन्सी –  वेस्ट ईन्डिजविरुद्वको टी–२० सिरिज भारतले जितेको छ । फ्लोरिडामा भएको दोस्रो खेलमा वेस्ट ईन्डिजलाई २२ रनले हराउँदै भारतले सिरिज जितेको हो ।

अमेरिका भ्रमणमा रहेको भारतले तीन म्याचको टी(२० सिरिजमा २–० को अग्रता समेत लिएको छ ।

योसंगै भारतले लगातार वेस्ट ईन्डिजविरुद्व दोस्रो सिरिज जित्न पनि सफल रह्यो । पछिल्लो पटक सन् २०१८ मा घरेलु मैदानमा भारतले वेस्ट ईन्डिजलाई ३–० ले हराएको थियो ।

भारतले ८ बर्षपछि विदेशमा वेस्ट ईन्डिजविरुद्व सिरिज जित्न सफल भएको हो । पछिल्लो पटक भारतले सन् २०११ मा वेस्ट ईन्डिजविरुद्वको सिरिज १–० ले जितेको थियो । भारतीय टिमले वेस्ट ईन्डिजलाई लगातार पाँचौ खेलमा समेत हराएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको भारतीय टिमले ५ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो । ओपनर रोहित शर्माको ६७ रनको मदलते भारतले सो स्कोर खडा गरेको थियो ।

शिखर धवनले २३ तथा विराट कोहलीले २८ रन बनाएका थिए । ऋषभ पन्त ४ तथा मनिष पाण्डे ६ रनमा पोविलियन फर्किदा कुर्नाल पाण्डेया २० तथा रबिन्द्र जडेजा ९ रनमा नटआउट रहे ।

जवाफी ब्याटिङमा उत्रिएको वेस्ट ईन्डिजले १५ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाएको थियो । त्यसपछि बर्षाले खेल प्रभावित बनेको थियो । डकवर्थ लुईसको आधारमा भारतले खेल २२ रनले जितेको घोषणा गरिएको थियो ।

वेस्ट ईन्डिजका रोभमन पोवेलले ५४ रन बनाउन बाहेक अन्यको प्रर्दशन उल्लेख्य रहन सकेन । निकोलास पोरनले १९ रन बनाए । अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् । भारतका कुर्नाल पाण्डेयाले सर्वा्धिक २ विकेट लिए ।

भारत र वेस्ट ईन्डिजले मंगलबार तेस्रो तथा अन्तिम टी–२० खेल्नेछ ।