साउन २०, काठमाडौं – आइतवार राति गएको पहिरोमा परी बाग्लुङमा १ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।
तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा ओमबहादुर श्रीपालीकी पत्नी ४५ वर्षीय पञ्चकुमारीको ज्यान गएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिएका छन् ।
बेपत्ता हुनेमा स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण भएका प्रहरीले बताएको छ ।
डेढ सय मिटर माथिबाट खसेको पहिरोले ५ घरमा क्षति र्पुयाएको जनाइएको छ । पहिरोमा परी घाइते भएका ६ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् ।
पहिरोमा हराइरहेकाको खोजीकार्य जारी रहेको प्रहरीको भनाई छ । थप विवरण आउन बाँकी छ ।