साउन २० काठमाडौं – आज नाग पञ्चमी । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गर्ने गरिन्छ । हिन्दु धर्म र संस्कारमा नागलाई पुजा गरी नागपञ्चमी मनाईन्छ ।
नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्म, तक्षक, कुलीर, कर्कट र शंख नागको पोखरी, कुवा इनारमा गएर दीप, कलश, गणेश गरी गोबरको नाग बनाई पूजा गर्ने चलन छ ।
पुजा गर्दा सेतो कमलको फूल र लाभा अर्थात् भुटेर फूल उठेको धानको प्रयोग गर्ने विधान छ । त्यस्तै नागदेवतालाई श्रीखण्डको सुगन्ध विशेष प्रिय लाग्ने भएकोले नागपूजा गर्दा श्रीखण्ड चन्दनको प्रयोग गर्ने गरिन्छ । अनि नागको फोटोमा दही, दुबो, कुश, सिन्दुर, चन्दन आदिले पूजा गरी घरको ढोकामा टाँस्ने गरिन्छ ।
नागको पुजा गर्नाले घरमा चट्याङ नपर्ने, आगो तथा सर्पको डर हुदैन भन्ने भनाई छ । श्रावण शुक्ल पञ्चमी तिथिका दिनदेखी वर्षायाम समाप्त भएर हिउँद सुरु भएको मानिन्छ ।
नग पुजाको वैज्ञानिक महत्व पनि रहेको बताईको छ । प्रकृतिमा भएका विषालु पदार्थलाई नाग, सर्पले ग्रहण गरी मानवलगायत अन्य जातिलाई बिषालु पदार्थको प्रभाव पर्न नदिने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भएको छ ।
सर्पले वायुमण्डलमा फैलिएको विषाक्त पदार्थ ग्रहण गर्ने भएकाले पर्यावरण संरक्षणमा सर्पको विशेष भूमिका रहने बैज्ञानिकहरुको भनाई छ । सर्पको प्रयोगबाट क्यान्सर जस्तो प्राणघातक रोगका लागि औषधि बन्ने वैज्ञानिक तथ्य पनि छ ।