साउन १९, काठमाडौं –वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको अनुगमनका लागि कार्यविधी बनाएको छ ।
म्यानपावर कम्पनीले वैदेशिक रोजगारमा कामदार पठाउन सुरु गरेको झण्डै ३४ बर्षपछि म्यानपावर कम्पनीको अनुगमनका लागि ‘अनुगमन टोली परिचालन कार्यविधी २०७६’ ल्याएको हो ।
सरकारको अनुगमनको यो कार्यविधीले म्यानपावर कम्पनीको अनुगमनलाई प्रभावकारी बनाउने बाटो खुलेको छ ।
वैदेशिक रोजगार विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले बनाएको कार्य्विधि मन्त्रालयबाट पास भएकाले विभागको टोली अब जुनसुकै बेला पनि अनुगमन गर्न सक्ने बताए ।
उनले कार्या्विधिअनुसार महानिर्देशकको निर्देशन र प्रत्यक्ष रेखदेखमा विभागबाट नियमित वा आकस्मिक टोली परिचालन हुने जनाए ।
उनका अनुसार शनिबार बाटै विभागले म्यानपावरको कार्यालयमा छापा सुरु गरेको छ ।
विभागले रोजगारी बन्द रहेको मलेसियको लागि भन्दै अन्तरवार्ता लिइरहेको म्यानपावर र कामदारसँग तोकिएभन्दा बढी रकम लिँदै गरेको प्याराडाइज इन्टरनेशनल म्यानपावरमाथी छापा मारेको थियो ।
बैदेशिक रोजगारीको नाउमा म्यानपावर कम्पनीहरुको मानव तस्करी जस्ता गतिविधीहरु बढेपछि सरकारले यसलाई व्यवस्थित गर्न भन्दै २०६४ सालमा वैदेशिक रोजगार ऐन ल्याई वैदेशिक रोजगार विभाग गठन गरेको थियो ।
तर नेपाली कामदारहरु म्यानपावर कम्पनीमार्फत २०४६ सालभन्दा पहिले देखी नै तेस्रो मुलुकमा जान थालेका हुन् । म्यानपावर कम्पनी पनि नेपालमा २०४२ सालदेखी खुल्न थालेको हो ।
म्यानपावर कम्पनीको अनुगमनका लागि बनेको कार्यविधी २०७६ मा अनुगमनका क्रममा टोली पुगेको स्थान र गतिविधि सम्बन्धमा नियमित रूपमा महानिर्देशकलाई तत्कालै मौखिक जानकारी गराउनुपर्नेछ ।
आकस्मिक अनुगमनका लागि प्रहरी (आवश्यकतानुसार सशस्त्र प्रहरी समेत) साथमा लैजान सकिने छ । थप सुरक्षाकर्मी आवश्यक पर्ने भएमा तत्काल खटिएको स्थानको नेपाल प्रहरीको नजिकको इकाईबाट थप मद्दत मागी परिचालन गर्न सकिने लेखिएको छ ।
त्यसैगरी अनुगमन टोलीले आफूले गरेको कामको प्रारम्भिक प्रतिवेदन अनुगमन गरेको २४ घन्टाभित्र दिनुपर्ने र अन्तिम प्रतिवेदन कार्यसम्पन्न गरेको ३ दिनभित्र महानिर्देशकसमक्ष पेश गनुपर्नेछ व्यवस्था रहेको छ ।
टोली परिचालनको अभिलेख छुट्टै रजिष्टरमा राख्नुपर्ने व्यवस्था मिलाइएको छ । यसको पाक्षिक तथा मासिक प्रगति विवरण विभागको अनुसन्धान तथा मुद्दा शाखा, राहत उद्धार शाखा र महानिर्देशकको सचिवालयमा अद्यावधिक गराउनु पर्ने हुन्छ ।
आवश्यकता अनुसार ‘वैदेशिक रोजगार विभागको आकस्मिक अनुगमन टोलीबाट चेकजाँच हुँदैछ’ भन्ने साइनबोर्ड वा विभागद्वारा तोकिएको एप्रोन ड्रेस प्रयोग गर्न सकिने छ । अनुगमनका क्रममा कारोवारस्थलमा सीलछाप गर्नुपर्ने भएमा मुचुल्का तयार गरी सीलछाप लगाउने अधिकार पनि टोली नै दिइएको छ ।
कार्य्विधिमा अनुगमनका क्रममा प्रहरीले बल प्रयोग गर्नुपर्ने अवस्था भएमा तत्काल महानिर्देशक, सम्बन्धित प्रमुख जिल्ला अधिकारी र आवश्यकता अनुसार नेपाल प्रहरीको मानव वेचविखन अनुसन्धान ब्यहोरालाई जानकारी गराउनुपर्नेछ ।
साथै अनुगमन प्रकृया सम्पन्न भएर अन्तिम प्रतिवेदन महानिर्देशकसमक्ष पेश नगर्दासम्म अनुगमन सम्बन्धी क्रियाकलापको गोपनीयता कायम गर्नुपर्ने व्यवस्था पनि छ ।
कार्य्विधिले कानूनले दिएको अधिकारको प्रयोग गर्दा निष्पक्ष र तटस्थ रही प्रमाणको आधारमा मात्र गर्नुपर्ने लेखेको छ,
अनुगमनमा जाने विभागको टोलीले वैदेशिक रोजगारीको लागि विभागबाट पूर्व स्वीकृति, रसीद, बील वा भरपाई, पूर्वस्वीकृति बमोजिम नै श्रम करारको कागजात लगायतका विषयलाई पनि चेकजाँच गर्नुपर्ने रहेको छ ।
अनुसन्धान गर्दा टोलीले सरकारले तोकेको भन्दा बढी शुल्क लिएको छ कि छैन र राहदानी वा भिषामा उल्लेखित विवरणमा हेरफेर गरेको न गरेको हेर्नुपर्ने छ ।