साउन १९, काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए ) युकेको अध्यक्ष पदका लागि शेर बहादुर सुनारले उम्मेदवारी दिने घोषणा गरेका छन् ।
हाल उपाध्यक्षमा क्रियाशिल सुनारले आगामी १४ सेप्टेम्बरमा हुन लागेको एनआरएनए युकेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
गैर–आवासीय नेपाली संघ युकेको अबको कार्यकाल दुई वर्ष (२०१९(२०२१) रहनेछ । सन २०१७ सेप्टेम्वर ९ मा सम्पन्न भएको गैरआवासीय नेपाली संघ युकेको महाधिवेशनबाट सुनारले आठौं कार्यसमितिको उपाध्यक्षको जिम्मेवारी पाएका थिए ।
वर्तमान कार्यसमितिको बैठकबाट संगठन सुदृढ तथा सदस्यता वृद्धिको संयोजकको जिम्मेवारी पाएका सुनारले २०१९को जुलाई अन्तिमसम्म एनआरएनए युकेको सदस्यताका लागि १३ हजार ८९० जनाको आवदेन जम्मा गर्न सफल भएका छन् ।
कार्यसमितिको लक्ष्य अनुरुप धेरै भन्दा धेरै सदस्य बनाई एनआरएनए युकेलाई अझ थप उचाईमा लैजाने सोच रहेको उनले बताएका छन् ।
उनले सदस्य बनाउन पक्कै सजिलो नभएको भन्दै सहयोग गर्न सकारात्मक भूमिका खेल्नेहरुलाई धन्यवाद दिएका छन् ।
साथै उनले उम्मेदवारी घोषणासभामा सहभागी भई अध्यक्षको पदको उम्मेदवारीमा आफूलाई सहयोग गर्न पनि अपिल गरेका छन् ।