सहकारीले १६ प्रतिशत भन्दा बढी ब्याज लिन नपाउने

साउन १७, काठमाडौं — सहकारी संस्थाले अब १६ प्रतिशतभन्दा बढी ब्याजदर लिन नपाउने भएका छन् ।

सहकारी ऐनको व्यवस्था अनुसार गठित सन्दर्भ ब्याजदर निर्धारण समितिको बिहीबार बसेको बैठकले बचतमा न्यूनतम १० प्रतिशत र ऋणमा अधिकतम् १६ प्रतिशत ब्याजदरको सिलिङ तोक्ने सहमति गरेको हो ।

यद्यपी समितिको शुक्रबार बस्ने बैठकले औपचारिक निर्णय गर्ने र पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्ने स्रोतले जनाएको छ । हाल सहकारी संस्थाले बचतमा १८ प्रतिशतसम्म र ऋण लगानीमा २४ प्रतिशतसम्म ब्याज लिँदै आएका छन् । ब्याजदर उच्च हुँदा सहकारीमा समस्या देखिन थालेपछि सरकारले ऐनमार्फत ब्याजदर नियन्त्रणको व्यवस्था गरेको थियो ।