साउन १७, काठमाडौं — भारी वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ बसालाको शान्तिटोलमा पहिरोले घर बगाउँदा दुई जनाकोे मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् ।
गएराति करिब १२ः३० बजे आएको पहिरोले घर बगाउँदा शान्तिटोलका एकैघरमा रहेका आमा र छोरीको मृत्यु भएको छ । पहिरोमा परेर ३० वर्षीया आमा निरुता चदारा र ६ वर्षीया छोरी किस्मिता चदाराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक उद्धवसिंह भाटले बताए ।
पहिरोले बगाउँदा ९० वर्षीय जंगे चदारा गम्भीर घाइते भएका छन् । अन्य चार जना घाइतेको अवस्था सामान्य छ ।
पहिरो गएको स्थानमा उद्धारका लागि जिल्ला प्रहरी कार्यालयको टोलीसँगै आफू पनि घटनास्थलतर्फ जाँदै गरेको प्रहरी नायव उपरीक्षक भाटले जानकारी दिए ।
जिल्लाका धेरै बस्ती भिरालो ठाउँमा भएका कारण पहिरोको उच्च जोखिममा रहेका छन् ।