साउन १६,काठमाडौं — नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले सरकार राष्ट्रिय दायित्वबाट पछि हटेर लम्पसारवादमा लागेको आरोप लगाएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले विदेश नीतिको सन्दर्भमा सरकारले विश्वसनीय काम गर्न नसकेको धारणा राखे । नेता महतले सरकारका गलत क्रियाकलापविरुद्ध कांग्रेस संसदभित्र र बाहिर सशक्तरुपमा प्रस्तुत् हुुने बताए ।
उनले भने, ‘सुरुमा ओली सरकारले राष्ट्रियताको बारेमा ठूलो कुरा गर्यो, उहाँहरुले हाम्रै काँधमा राष्ट्रियता अडेकोजस्तो गर्नुभयो । तर, अहिले लम्पसार हुनुभयो । उहाँहरुको राष्ट्रियताको चर्को नारा भनेको त सत्तामा जाने भ¥याङमात्रै हो ।’
वर्तमान सरकार नेपाल–भारत सम्बन्ध, नेपाल–चीन सम्बन्धमा मात्रै नभएर पूरै विदेश सम्बन्धमा असफल भएको उनको आरोप छ । उनले भने,‘सरकारले जनतातिर फर्केर राष्ट्रियताको कुरा गर्छ, तर जुन देशसँग आफ्नो कुरा राख्नुपर्ने हो त्यो देशसँग कुरै गर्न सक्दैन् । लम्पसार परेको छ । त्यसैले यो सरकार विदेश नीतिमा पुरै असफल भएको छ ।’
माओवादीलाई गिरिजाप्रसाद कोइरालाले वार्ता गरेर शान्तिपूर्ण राजनीतिमा ल्याउएको बताउदै महतले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहलाई हिंसाको बाटो त्याग्नको लागि आग्रह गरे । उनले विप्लव समूहले हिंसाको कदम रोक्नुपर्ने बताए ।
उनले थपे, ‘सरकारले पनि वार्ताको ढोका खोल्नुपर्छ । कानुनको परिधिभित्र रहेर आफ्नो भूमिका खेल्नुपर्छ । विप्लवसँग सरकारले वार्ता गर्नुपर्छ । हामी वार्ताको पक्षमा छौं । तर, विप्लवले पनि हिंसाको बाटो बन्द गर्नुपर्छ । हामी हिंसाको खिलाफमा छौं ।’
संगठन विस्तार नभएसम्म पार्टीको महाधिवेशन हुन नसक्ने भएकाले पार्टी सभापतिले यसबारे गृहकार्य गरिरहेको पनि उनको भनाइ थियो ।