साउन १५, काठमाडौं– काठमाडौं टावरका ठेकेदार मनोज भेटुवाललाई विदेशी विनिमय अपचलनको मुद्धा लागेको छ । राजश्व अनुसन्धान विभागले बुधबार काठमाडौं टावरका ठेकेदार मनोज भेटुवालसहित ४ जनालाई काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलनको मुद्धा दर्ता गरेको हो ।
४ करोड ६० लाख ४२ हजार ८५० रुपैयाँ बराबरको बिगो दावी गर्दै विभागले भेटुवाल, निशा गुरुङ, राजकुमार बिष्ट र शिव बिष्ट विरुद्ध मुद्दा दर्ता गरेको छ ।
साथै उनीहरुलाई ३ वर्ष कैद र बरामद दशी समेत जफत गर्नुपर्ने माग पनि रिटमा उल्लेख गरिएको छ । भेटुवाललाई गैरकानुनी रुपमा खुलामञ्चमासटर बनाएर विक्री गर्ने ठेकेदारका रुपमा कहलिएका छन् ।
विभागले अनुसन्धान गर्दा भेटुवालले ४ करोड ६० लाख भन्दा बढी हुण्डी मार्फत अवैध रकम नेपाल भित्र्याएको अनुसन्धानबाट फेला पारेको हो । उनले जलेश्वर स्वच्छन्द बिकोइ नामको आफ्नो कम्पनी मार्फत कारोबार गरेको शंकास्पद भेटिएपछि विभागले अनुसन्धान सुरु गरेको थियो ।
राष्ट्र बैंकमार्फत प्रक्रिया पुरा नगरी सिंगापुरमा विभिन्न व्यक्तिसँग लगानीका नाममा उठाएर टावरका लागि भित्राएको प्रमाणित भएको विभागले जनाएकोे छ ।काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माणका लागि भेटुवालले विभिन्न मुलुकबाट रकम ल्याएको प्रमाण यसअघि नै भेटिएको थियो । विभागका अनुसार हुण्डिमार्फत रकम भित्र्याएर उनले टावरमा लगानी गरिरहेको भेटिएको छ ।