साउन १४, काठमाडौं — पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टीको स्कुल विभागमा आफू पनि आकांक्षी रहेको बताएका छन् ।
खनालले स्कुल विभागका लागि आफू पनि तयार रहेको इलाम जाने क्रममा झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलनमाफत् बताए । खनालले भने,‘म त प्रधानमन्त्री भएर देश नै चलाएको मान्छे हुँ । पार्टीले दिन्छ भने स्कुल विभागको जिम्मेवारी किन नलिने ?’
स्कुल विभागको विवाद मिडियाले चलाएको उनको आरोप छ । मिडियाले तीव्रताका साथ बहस चलाएर स्कुल विभागमा विवाद देखाएको तर पार्र्टी्भित्र कुनै विवाद नभएको उनको दाबी छ ।
खनालले स्कुल विभाग जसलाई दिएपनि ठूलो कुरा नभएको टिप्पणी गरे । उनले भने,‘ विभागहरु गठन गर्ने विषयमा थप गृहकार्य गर्ने सहमति भएको छ । हामी आगामी २८ गतेसम्म गृहकार्य गर्छौँ ।’ उनले थप गृहकार्य र सहमतिबाट पार्टी एकीकरण प्रक्रियालाई चाडै टुंग्याउन लागेको बताए ।
नेता खनालले सरकारमा रहेको मन्त्रिमण्डलमा परिवर्तन गर्न जरुरी रहेको बताए । उनले केही मन्त्रीहरुको काम र योग्यता कमजोर देखिएकोले मन्त्री परिवर्तन गर्ने बेला भएको बताए ।