डा. नम्रता पाण्डे
चुरा — साउन महिना सुरु हुनुअघि नै बजारमा हरिया, राता तथा पहेंला चुरा आइसकेका हुन्छन् । प्रायःजसो महिलाको नाडीमा राता, हरिया, पहेंला चुराहरू टमक्क मिलेका देखिन्छन् । महिला सौभाग्यको प्रतीक चुरा लगाउँदा त्यसको छिनछिन आवाजले दिने सुमधुर संगीत, कर्णप्रिय र मधुर ध्वनिले आनन्ददायक संगीत पैदा गर्नुका साथै सबैको ध्यान खिच्न सफल हुन्छ । यसले प्रदान गर्ने तरंगले हृदयदेखि नै सकारात्मक भाव पैदा गर्छ यदि गहिराइदेखि नै यसलाई हृदयंगम गर्न सक्ने हो भने । अहिले आएर चुरा लगाउने संस्कार भड्किलो हुँदै गएजस्तो लागे पनि परम्परादेखि नै महिलाहरूले सुन, चाँदी एवं धातुका चुरा लगाउँदै आएको पाइन्छ । पूजाआजामा देवीको प्रसादस्वरूप चुरा चढाउने चलन अझै पनि कायमै छ ।
पोते — साउनमा महिलाले गलामा प्रयोग गर्ने राता तथा पहेंला पोते पनि सौभाग्यका प्रतीक मानिन्छन् । विशेषगरी विवाहित महिलाले आफ्ना श्रीमान्बाट सौभाग्यका रूपमा प्राप्त पोते लगाउँदा बाहिरी आकर्षण र सुन्दरता आफ्नो ठाउँमा छँदैछ, भित्रबाट प्रेमको प्रस्फुटन पनि सँगै हुँदा यसले आन्तरिक सुखलाई वृद्धि गर्छ । किनभने जहाँ प्रेम हुन्छ त्यहाँ मात्र खुसी मिल्छ ।
सिन्दूर — एक चिम्टी सिन्दूरको मूल्य कति हुन्छ ? भन्ने त कहावत नै छ । हाम्रो धार्मिक परम्परा एवं आस्थामा विवाहको शुभ कार्यमा त्यही एक चिम्टी सिन्दूरले एउटी नारी एक पुरुषको जीवनमा साथी भएर प्रवेश गर्छिन् अनि प्रेम र सह–अस्तित्वले उनको जीवनमा सकारात्मक ऊर्जा प्रदान गर्छ । अर्कातिर सिन्दूरमा मर्करी धातु मिसिएको हुनाले सिन्दूर लगाउँदा शान्ति र शीतलता मिल्छ भने यसबाट तनावरहित हुन मद्दत पुग्छ पनि भनिन्छ ।
टीका — महिलाहरूले टिका अर्थात् बिन्दी लगाऊने स्थान आज्ञाचक्रमा हुन्छ । यसले आज्ञाचत्रलाई सक्रिय तुल्याउन मद्दत गर्छ । टीका लगाउँदा देखिने सुन्दरता आफ्नो ठाऊँमा छँदैछ तर यसले आज्ञाचक्रलाई समेत सत्रिय पार्ने भएको हुँदा यसको महत्व अझ बढी छ ।
मेहन्दी — साउनमा मेहन्दी लगाए महिलाको आयु बढ्छ भन्ने चलन र सुहागनको हिसाबले आकर्षक अनि भावनात्मक हिसाबले बढी प्रेमिल देखिने विश्वास गरिन्छ । पहिले–पहिले हरियो मेहन्दी पिसेर सीधै हत्केलामा लगाउँदा आयुर्वेदीय हिसाबले औषधिको काम गर्छ भन्ने विश्वास थियो तर अहिले रासायनिक पदाथहर्रू मिसाइएको मेहन्दीलाई औषधिका रूपमा भन्दा बाहिरी रंगमा मात्र सीमित गर्न थालिएको छ । यद्यपि महिलाको सोर्ह शृंगारभित्र पर्छ मेहन्दी ।
नेपाली महिलाहरू साउन महिनालाई विशेष महत्वका साथ लिएर भगवान् शिवको आराधना, आफ्ना पतिदेवको सु–स्वास्थ्यको कामना आदि जोडेर शृंगारमा चिटिक्क परेर बस्नुले धार्मिक, आध्यात्मिक, सामाजिक, सांस्कृतिक एवं मानसिक पक्षसँगै जोडिएर आएका हुन्छन् । भगवान् शिव बाहिरी पूजा र आराधनाले मात्र खुसी हुनुहुन्न । उहाँले पार्वतीलाई सिकाएका १ सय ८ ध्यान विधिमध्ये एक मात्र विधि भए पनि हामीले हाम्रो जीवनमा उतार्न सक्यौं भने भगवान् शिव खुसी हुने भन्दा पनि हाम्रो जीवन आनन्दित एवं शान्तिपूर्ण ढंगले बित्छ । हाम्रो व्रतले श्रीमान्को आयु बढ्ला–नबढ्ला तर हाम्रो शृंगाररूपी मुस्कान र प्रेमले भरिएको हृदयले
श्रीमान्का हरेक पाइलामा साथ दिन सकियो भने हाम्रो शृंगारको वास्तविक अर्थ लाग्छ । अनुहारमा शृंगार र शरीरमा नयाँ पहिरन तर मन सफा, शुद्ध र करुणावान्, सोचाइ सकारात्मक छैन भने त्यसले वास्तविक अर्थ राख्दैन । श्रीमान्–श्रीमतीबीच प्रफुल्लित मन, सहयोगी भावना, एक–अर्काको सहारा तथा एक–अर्कामा विश्वास एवं स्वतन्त्रता हुँदा मात्र एउटा घर मन्दिर बन्न सक्छ । अन्यथा भित्र वैरभाव, मनमुटाव, प्रतिस्पर्धा र विभेद छ भने बाहिरी सोर्ह शृंगार तथा कर्मकाण्डले मात्र जीवनमा प्रेम फलित हुँदैन ।
महिलाहरूको वास्तविक शृंगार त उनको आचरण हो । बोलीबचन, मधुरता, शीलस्वभाव, घरपरिवारमा सहयोगी एवं सद्भावपूर्ण व्यवहारले खुल्ने शृंगार अरू कुन कुराले खुल्छ र ? कतिपय अवस्थामा पुरुषसँगको तुलनाले गर्दा महिलामा प्रतिस्पर्धाको भावना वृद्धि हुँदै गएको पाइन्छ । महिलालाई कसैसँग तुलना गरेर हेर्नु जरुरी छैन किनभने महिला आफैमा अस्तित्वकी अलग सिर्जना हुन् । महिलालाई नै निधारमा टीका र नाडीमा चुरा अनि सिउँदोमा सिन्दूर सुहाउँछ । आफ्नो स्वभाव, कर्म, उत्तरदायित्व एवं भूमिकालाई आचरणपूर्वक निर्वाह गर्न सके त्यही नै महिलाको आकर्षण र शृंगार हो ।
साभार— नारी पत्रिका