साउन १२, काठमाडौं — नेपाली काँग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले पार्टीको १४ औ महाधिवेशनको मिति निर्धारण गरि अघि बढ्न नेतृत्वलाई दबाब दिएका छन् ।
बैठकमा पेश भएका १४ वटा एजेण्डामध्ये पार्टीको महाधिवेशनको विषय गम्भीर र महत्वपुर्ण एजेण्डाको रुपमा छलफल भईरहेको छ ।
महाधिवेशन समयमै गर्नुपर्ने तर्क केही सदस्यहरुले प्रस्तुत गरेका छन् भने तत्कालका लागि विधानको संक्रमणकालिन व्यवस्था अनुसारको संरचना बनाउने र केही समय पछि महाधिवेशन गर्ने विषयमा केही सदस्यहरुले धारणा छ ।
त्यसैगरि केही सदस्यले विधानलाई निलम्बित गरेर काम गर्न नसकिने उल्लेख गर्दे विधान विपरित कुनै पनि विषयमा सहमति र सम्झौता हुन नसक्ने भएकाले महाधिवेशनको समय निर्धारण गरि क्यालेन्डर बनाई अघि बढ्नुपर्ने धारणा राखेका छन् ।
प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको विधानको धारा ७१ को उपधारा ४ बमोजिम अन्तरिम संरचना बनाई १४ औ महाधिवेशनको कार्यतालिका निर्माण गर्ने विषयमा छलफल केन्द्रीत भएपनि निष्कर्षमा भने पुगि नसकिएको बताए।
केन्द्रीय सदस्य अर्जुन नरसिं केसीले कार्यतालिका अनुसार नै महाधिवेशनको मिति तय गरिनुपर्ने बताए। उनले संक्रमणकालिन व्यवस्थाको नाममा भर्रखरै बनाएको विधानलाई निलम्बित गरेर विधान विपरित कुनै पनि सहमति सम्झौता गर्न नसकिने बताए।
असार २२ गते देखि सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठक बीचमा रोकिदै चल्दै आएको छ । बैठकमा पेश भएका १४ वटा एजेण्डा मध्ये नियमावलिको एजेण्डामा केन्द्रीय समितिले सर्वसम्मति परिमार्जन गरेर सहमति पुर्वक टुंग्याउने गरि नियमावलि मस्यौदा समितिलाई नै फिर्ता पठाइसकेको छ । प्रवक्ता शर्माले महाधिवेशनको विषय टुंगो लागेपछि बाँकी एजेण्डामा संयुक्त छलफल गरिने बताए ।