शिक्षाको नाममा ब्रह्मलुट गर्न पाइदैन ः डा.महत

साउन ८, काठमाडौ —नेपाली काँग्रेसका नेता डा.रामशरण महतले निजी लगानीका विद्यालयले शिक्षाको नाममा ब्रह्मलुट गर्न नपाइने बताएका छन् ।

‘निजी शिक्षण संस्थाले गरेको चर्को मूल्यवृद्धि, यसले निम्त्याएको शैक्षिक अराजकता र नेवि संघको भूमिका’ विषयक शैक्षिक बहसमा बोल्दै शुल्कमा एकरुपता ल्याउनुपर्ने बताए ।

आज नेपाल विद्यार्थी संघ ११ औँ महाधिवेशन गर्ने पक्षधरले सैतीसौँ वीपी स्मृति दिवसको अवसर पारि उक्त कार्यक्रमको आयोजना गरेको थियो ।
उनले भने ‘निजी विद्यालयले राज्यको राजश्व सङ्कलनमा ठूलो योगदान दिएको छ, तर योगदानको नाममा ब्रह्मलुट गर्न पाइँदैन, सरकारले निजी विद्यालयको शुल्कमा अनुगमन गर्नुपर्छ’ । साथै गुणस्तर शिक्षामा पनि सरकारले जोड दिनुपर्ने उनको जोड थियो ।

त्यसैगरि काँग्रेस केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले निजी विद्यालयको दाँजोमा सरकारी विद्यालयले किन राम्रो शिक्षा दिन सकेनन् भन्ने बारेमा खोजी हुनुपर्ने बताए । समयानुसार पाठ्यक्रम परिमार्जित गर्दै लैजानुपर्ने उनको भनाई छ ।

शिक्षाविद् डा.सुरेन्द्र केसीले विश्वविद्यालय पठनपाठन गर्ने थलोभन्दा राजनीतिक गर्ने थलो हुँदै गएको भन्दै चिन्ता व्यक्त गरे । शिक्षा बुझेको व्यक्तिलाई विश्वविद्यालयको पदाधिकारी नबनाउँदा नेपालको शिक्षा क्षेत्र खस्कँदै गएको उल्लेख गरे ।