साउन ६, काठमाडौं—भारतीय क्रिकेट टोलीले आउँदो अगस्ट ३ देखि वेष्ट इन्डिज भ्रमण सुरु गर्दैछ । भारतीय टिमले वेष्ट इन्डिजसँग तीन एक दिवसीय, दुई टेस्ट र तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ ।
भारतका कप्तान विराट कोहली आइतबार पाँच चयनकर्तासँग यस भ्रमणका लागि टिम छनौट गर्ने सम्बन्धमा हुन लागेको बैठकमा सहभागी हुँदैछन् ।
हालै सम्पन्न एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत सेमिफाइनलको खेलमा भारतीय टिमको प्लेइङ्ग इलाभेन र खेलाडीको रनिङ्ग अडरलाई लिएर क्रिकेटका विज्ञ तथा पूर्व खेलाडीले आलोचना गरेका थिए ।
त्यसपछि कप्तान विराट कोहली, प्रशिक्षक रवि शास्त्री र पूर्व कप्तान महेन्द्र सिंह धोनीको भूमिकालाई लिएर चर्चा भइरहेको छ । यी सबै चर्चाको बिचमा सबैको नजर आइतबार हुने बैठकमा अडिएको छ ।
तीनै फरम्याटको कप्तान कोहली रहन्छन् ?
विश्वकप क्रिकेटमा कप्तान कोहली र प्रशिक्षक रवि शास्त्रीका विभिन्न निर्णयमा प्रश्न उठिरहेका छन् । भारतीय टिमका पूर्व कप्तान सौरव गांगुली र विविएस लक्ष्मणले धोनीलाई सातौँ नम्बरमा ब्याटिङ्गका लागि पठाउने रणनीति गम्भीर गल्ती रहेको बताएका छन्।
सचिन तेन्दुल्करले पनि विराट कोहलीले धोनीलाई सातौँ नम्बरमा पठाएर गल्ती गरेको बताएका थिए। उनले दिनेश कार्तिकलाई पाँचौँ नम्बरमा पठाउनु आफूले नबुझेको बताएका थिए ।
त्यसपछि भारतीय टिममा एक पटक फेरि फरक फरम्याटका लागि भिन्न कप्तान रहनु पर्छ भन्ने चर्चा भइरहेको छ । वरिष्ठ खेल पत्रकार जी. राजरमण यसलाई अनावश्यक माग मान्छन् । उनले भने, ‘विभिन्न व्यक्तिले विभिन्न धारणा राख्न पाउँछन् । तर छनौटकर्ताले यो कुरा ध्यानमा राख्नु पर्छ कि भारत दुई कप्तान ह्याण्डल गर्न योग्य छ ? मेरो विचार दुई कप्तान आवश्यक छैन ।’
अर्का वरिष्ठ खेल पत्रकार विजय कोलपल्लीले पनि कोहलीको कप्तानीमा प्रश्न गर्ने ठाउँ नरहेको बताएका छन् । उनले भने, ‘कुनै फरम्याटमा नयाँ कप्तान ल्याउने वा भएकालाई पाखा लगाउने निर्णय उनीहरुको फिटनेस, फर्म र टिममा रहेको उनीहरुको महत्वमा निर्भर रहन्छ । यदी कोहलीको कप्तानी र सफलतामा नजर लगाउने हो भने नयाँ कप्तानको खोजी गर्नु पर्ने छैन । उनले त्यस्तो कुनै खराब काम गरेका छैनन् कि भारतले नयाँ कप्तान खोज्नु परोस् ।’
तर फरक कप्तानको माग गरिरहेका पक्षले रोहित शर्माको नाम लिइरहेका छन् । उनले विश्वकपमा गरेको शानदार ब्याटिङ्ग तथा आइपिएलमा आफूले कप्तानी गरेको टिमलाई चारपटक च्याम्पियन बनाएको तर्क उनका पक्षधरको छ ।
तर आइपिएल टिमको कप्तानी र भारतीय टिमको कप्तानमा आकाश जमिनको फरक रहेको पत्रकार विजय कोलपल्लीले बताए । उनले भने ‘कहिले काहिँ रोहितले टेस्ट खेल्दैनन् । दुईमा उनी कप्तान र एकमा कोहली कप्तान बनुन् यो टिमका लागि सही हुने छैन ।’
के ड्रप हुने छन् धोनी ?
विश्वकप क्रिकेट र त्यो भन्दा अघि देखि नै धोनी माथि मन्द गतिमा खेलेको भन्दै आलोचना हुँदै आएको छ । विश्वकपको समूह चरणमा इंग्ल्याण्डसँगको खेलमा धोनीको सुस्त पारी र न्युजिल्याण्डसँगको खेलमा पनि मन्द गतिमा खेलेको भन्दै उनको आलोचना भइरहेको छ ।
केही पूर्व क्रिकेटरले सल्लाह दिएका छन् कि, अब समय आएको छ, वेष्ट इन्डिज भ्रमणका लागि टोली घोषणा पूर्व छनौटकर्ताले धोनीसँग उनको करिअरका बारेमा छलफल गर्ने । यसको अर्थ धोनीले सन्यासका बारेमा सोच्ने समय आएको हो ? या उनलाई टिमबाट ड्रप गरिने छ ?
वरिष्ठ पत्रकार विजय लोकपल्लीका अनुसार धोनीको प्रदर्शन उनीमाथि प्रश्न गर्नु पर्ने खालको छैन । तर पत्रकार जी. राजारमणले भने धोनीलाई छनौट गर्ने या नगर्ने भन्ने निर्णय छनौटकर्तामै निर्भर रहेको बताए ।
जी. राजारमणनका अनुसार छनौटकर्ताले धोनीलाई शायद एक शृङ्खलामा टिममा राख्ने छन् ब्याट्सम्यान र विकेट किपरका रुपमा किनकी उनको खेलमा गिरावट आएको छैन, यस्तै उनले विकेट पछिबाट कप्तानलाई सहयोग गर्न सक्छन् ।
धोनी बिना के गर्ने छन् कोहली ?
महेन्द्र सिंह धोनीले विकेटकिपिङ्ग गर्दै बलरलाई साथ दिइरहेका छन् । विकेट पछिबाट धोनीले दिने गाइडेन्स आफूहरुका लागि फाइदाजनक हुने गरेको भारतीय बलरहरुले बताउने गरेका छन् ।
कप्तान कोहली धेरै पटक आउटफिल्ड खेलेर फिल्डिङ्ग गर्छन् र फिल्ड सेट गर्ने र बलरलाई सहयोग गर्ने जिम्मा धोनीले लिने गरेका छन् । यस्तै यसमा उपकप्तान रोहित शर्माको पनि भूमिका छ ।
यस्तो अवस्थामा धोनीले सन्यास लिए या टिममा उनले स्थान बनाएनन् भने कप्तान कोहलीलाई समस्या आउने बताइन्छ । तर विजय लोकपल्लीका अनुसार कप्तानको भूमिका कप्तानले नै निर्वाह गर्छन् ।
(बिबिसी हिन्दीको सहयोगमा)