तीन बर्षभित्र काठमाडौँको चक्रपथमा मनोरेल सञ्चालन हुने

साउन ६, काठमाडौं— अबको तीन बर्षभित्र काठमाडौँको चक्रपथमा मोनोरेल सञ्चालन हुने भएको छ । काठमाडौँ महानगरपालिकाद्वारा पारित चालू आर्थिक वर्षको बजेटमा यो जानकारी दिइएको हो । महानगरपालिकाले चालू आर्थिक वर्षमा १५ अर्ब पचास करोड ७० लाख १२ हजार रुपियाँ बजेट पारित गरेको जानकारी दिएको छ ।

चालू आर्थिक वर्ष २०७६(७७ को पारित बजेटबारे आइतबार आयोजित पत्रकार सम्मेलनमा महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले आगामी तीन वर्ष्भित्र चक्रपथमा मोनोरेल सञ्चालन गरिने कार्ययोजना तय गरिएको जानकारी दिए ।

चक्रपथमा मोनोरेल सञ्चालन गर्न काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाले मोनोरेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नका लागि चिनियाँ कम्पनी चाइना रेलवे २५औँ ब्युरो ग्रुप कम्पनी लिमिटेड
(सीआरसीसी)सँग यसअघि नै सम्झौता गरिसकेका छन् ।

काठमाडौँमा मोनोरेल सञ्चालनका लागि सीसीआरसीले यसअघि नै सम्भाव्यता अध्ययन गरी सोको प्रतिवेदन महानगरपालिकालाई बुझाइसकेको छ ।

आजको गोरखापत्र दैनिकमा खबर छ ।