साउन ५, काठमाडौं — सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो ।
आज बस्ने सचिवालय बैठकले जिल्ला इञ्चार्ज, बाँकी रहेका अन्य विभाग, आयोगहरू, सल्लाहकार परिषदलगायतमा जिम्मेवारी टुंगो लगाउन प्रयास हुने छ ।
तर सचिवालय बैठक बस्नुअघि नै पूर्वमाओवादी शीर्ष नेताहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् ।प्रचण्ड निवास खुमलटारमा बिहान बसेको बैठकमा नेताहरुको जिम्मेवारीबारे छलफल भएको बताइएको छ ।
शीर्ष तहमा गत असार ३१ गते भएको सहमती अनुसार ३२ विभागमध्ये पूर्व एमालेको भागमा १८ र पूर्वमाओवादीको भागमा १२ विभाग परेको थियो ।
पूर्व एमालेका नेताहरूले आफ्नो भागमा परेका चार महत्त्वपूर्ण विभागहरूको नेतृत्व टुंगो लगाइसकेको छ ।
जसअनुसार संगठनमा वामदेव गौतम, स्कूलिङमा ईश्वर पोखरेल, विदेश विभागमा माधवकुमार नेपाल र नीति तथा प्रतिष्ठान विभागमा वरिष्ठ नेता झलनाथ खनाल तोकिइसकेका छन् भने पूर्व माओवादीतर्फ परेको आर्थिक र प्रचार विभागको नेतृत्व तोक्न बाँकी छ ।