साउन ४, काठमाण्डौं — राष्ट्रिय सतर्कता केन्द्रले गरेको एक अध्ययनका अनुसार पाल्पाको ऐतिहासिक तथा पुरातात्विक रानीमहलको सरकारी जमिन मोहीको नाममा गराएको भेटिएको छ ।
पाल्पाको वगनासकाली गाउँपालिका वडा नं ७ साविकको खानीगाउँ गाविस–२ मा पर्ने कित्ता नं १६६ लाई कित्ता नं ६६० र ६६१ बनाई उत्त रानीमहल दर्बारको जग्गा गुठीलाई दिएको भन्दै नक्कली मोहीको नाउमा दर्ता गराइएको राष्ट्रिय सतर्कता केन्द्रको अध्ययनबाट खुलेको हो ।
राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी डोलनाथ अर्यालले प्रतिवेदनमा कित्ता नं १६६ को १३ रोपनी नौ आना दुई पैसा क्षेत्रफलमध्ये कित्ता नं ६६० बनाई पाँच रोपनी तीन पैसा जग्गा व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ । २०६० साल मङ्सिर १६ गते मालपोत कार्यालयमा कित्ता नं १६६ बाट कित्ता नं ६६० र ६६१ काटिएको भएपनि १६६ नम्बरको कित्ता जग्गा नापी विभागबाट कित्ताकाट गरिएको छैन ।
प्रतिवेदनमा खङ्गेश्वर गुठीका मोही महालक्ष्मी श्रेष्ठका नाममा दुई कित्तामध्ये ६६० नम्बरको कित्ता मालपोत कार्यालयमा र कित्ता नं ६६१ नापी कार्यालयमा नक्साङ्कन गरी श्रेस्ता कायम गरिएको उल्लेख छ । त्यसैगरी २०७२ साल असोज ५ गते ६६० नम्बरको कित्ताका मोही श्रेष्ठबाट मोही अर्कैको नाममा बनाइएको पाइएको छ ।
उक्त कित्ता नजरमान श्रेष्ठ, तारामान श्रेष्ठ, नीलम श्रेष्ठलाई नामसारी गरिए मालपोत कार्यालयबाट देखिन आएको छ । आठ रोपनी नौ आना एक दाम एक पैसा क्षेत्रफल रहेको कित्ता नं ६६१ को जग्गा पनि मोही महलमा चक्रपाणि पाण्डे, थपबहादुर थापा, दुर्गाबहादुर थापाको नाउमा मालपोत कार्यालयमा दर्ता गरिएको कित्ताबाट देखिएको प्रतिवेदनमा छ यद्यपी मोहील जग्गाको श्रेस्ता कायम गर्न नसकेको देखिन्छ ।
यसैगरी साविक बौद्धगुम्बा गाविस–२ मा पर्ने सरकारी जग्गा कित्ता नं ४६७ अर्थात १२ रोपनी नौ आना दुई पैसा क्षेत्रफल जग्गा पनि रानीघाटको गुठी बनाई मोही थानबहादुर श्रेष्ठको नाम दर्ता गरिएको पनि प्रतिवेदनले देखाएको छ ।
त्यसैगरी रानीमहलकै फूलबारी रहेको १७ रोपनी १३ आना एक पैसा क्षेत्रफल जग्गा कित्ता नं ४६६ पनि२०६२ माघ १८ गते नापी विभागमा कित्ताकाँट गरिएको भेटिएको छ ।
यसको थप अनुसन्धान गर्न उक्त प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पठाएको राष्ट्रिय सतर्कता केन्द्रका सूचना अधिकारी अर्यालले बताए ।