साउन ४, काठमाडौं —खुला प्रतिस्पर्धाबाट छनोट भएका शिक्षकहरुको पदस्थापन शुरु भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले खुला प्रतिस्पर्धाबाट छनोट भएका माध्यमिक तहका शिक्षकहरुको पदस्थापना शुरु गरेको हो । शुक्रवार ७७ वटै शिक्षा समन्वय इकाईहरुलाई परिपत्र गर्दै केन्द्रले शिक्षकहरुको विषयगत नामावलीसहित पदस्थापनाको जिल्ला तय गरेको हो ।
केन्द्रले समन्वय इकाईहरुमा पठाएको परिपत्र शिक्षक पदस्थापना र नियुक्तिका ५ आधारहरु समेत पठाएको छ । साथै पदस्थापना हुने जिल्लामा समयमै सम्पर्क गर्न शिक्षकहरुलाई केन्द्रले आग्रह गरेको छ ।
यि हुन पदस्थापनाका आधार
पदस्थापना भएको जिल्ला छनोटमा चित्त नबुझेमा यही साउन १० गते शुक्रवार ३ बजे भित्र teachermgt.cehrd@ gmail.com मा हस्ताक्षर सहित निवेदन पठाउनुपर्ने केन्द्रले जनाएको छ ।
१. सम्बन्धित शिक्षा विकास तथा समन्वय इकाईले आफ्नो जिल्ला अन्तर्गत रिक्त रहेको तह र विषयगत दरबन्दी संख्या अनुसार शिक्षकहरुलाई गाँउ नगरपालिका रोज्न लगाउने ।
२. उल्लिखित शिक्षक नियुक्ति तथा पदस्थापनका आधारहरु बमोजिम तह, विषय र सिफारिस भएको गाँउ/नगरपालिका खुलाई स्थायी नियुक्ति पत्र दिने ।
३. विद्यालयमा पदस्थापन गर्न स्थायी नियुक्ति प्राप्त गरेका विषयगत शिक्षकहरुको नामावली र विधालयगत रिक्त दरबन्दीको विवरण सम्बन्धित गाँउ नगरपालिकालाई उपलब्ध गराउने ।
४. शिक्षा विकास तथा समन्वय इकाइबाट प्राप्त बिवरणका आधारमा स्थानीय तहले शिवा नियमावली अनुसार तह, कक्षा, विषय र विद्यार्थी संख्याको आधारमा विद्यालय रोज्न लगाई पदस्थापन गर्ने ।
५. शिक्षा विकास तथा समन्वय इकाइले नियुक्त गरिएका शिक्षकहरुको एकमुष्ट नामावली मात्र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा पठाउने ।